बार्षिक कार्यसम्पादनमा रुकुम पूर्व देशभरमै प्रथम भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा रुकुम पूर्व कार्यसम्पादन मुल्यांकनमा अति उत्कृष्ट कार्यसम्पादन सहित जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व प्रथम भएको हो । देशभरमा तीन जिल्ला प्रशासन कार्यालय प्रथम भएका छन् । रुकुम पूर्व सहित झापा र अर्घाखाँची जिल्ला पनि रहेका अति उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्लामा परेका छन् ।
२०७५ देखि गृहमन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरु वीच कार्यसम्पादन सम्झौता सुरु भए अनुसार हरेक वर्ष विभिन्न ६ वटा विषयगत क्षेत्रहरुलाई आधार बनाएर कार्यसम्पादन मुल्यांकन गर्ने गरिएको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुशासनलाई आधार बनाएर कार्य सम्पादन मुल्यांकन गरिएको थियो ।
जसमा उत्कृष्ट कार्यसम्पादन सहित रुकुम पश्चिम र ललितपुर दोस्रो स्थानमा परेका छन् । गुल्मी तेस्रो भएको छ । कार्यसम्पादनमा अब्वल देखिएका जिल्लाहरुलाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने गृहमन्त्रालयको भनाई छ । त्यस्तै गत वर्ष ११ जिल्ला उत्कृष्ट कार्यसम्पादन स्तर भएका जिल्ला बनेका छन् भने उत्तम कार्यसम्पादन भएका १८, मध्यम कार्यसम्पादन भएका २१ र न्यून कार्यसम्पादन भएका २१ जिल्ला रहेको गृहमन्त्रालयले जनाएको छ ।