नेकपा एमाले रुकुम पूर्वको अध्यक्षमा टोपबहादुर ओली चयन हुनुभएको छ । हिजो सम्पन्न पार्टीको प्रदेश कमिटि बैठकले प्रदेश कमिटि सहित १२ वटै जिल्लाको नेतृत्व चयन गरेको छ । जसअनुसार रुकुम पूर्वको अध्यक्षको जिम्मेवारी ओलीले पाउनुभएको हो । पार्टी जिल्ला कमिटिको उपाध्यक्षमा रुजिधन घर्तीमगर, सचिवमा लिलामणि गौतम र उपसचिवमा तेजेन्द्र बुढामगर रहनुभएको छ । पार्टीको १० बुँदे सम्झौता कार्यन्वयन गर्दै प्रदेश कमिटि सहित जिल्ला कमिटि निर्माण भएको नेकपा एमालेले जनाएको छ ।
१० बुँदे सहमति अनुसार पार्टी २०७५ को जेठ २ गते फर्किएको र सोही अनुसार जिल्ला कमिटि निर्माण भएको नेकपा एमाले रुकुम पूर्वका सचिव लिलामणि गौतमले जानकारी दिनुभयो । २०७५ को जेठ २ अघि नेकपा एमालेको जिल्ला संयोजक सतमान पुन, आशा स्वर्णकार उपसंयोजक र भिउमान घर्ती सचिव हुनुहुन्थ्यो । त्यतिबेलाका संयोजक पुनको मृत्यु भइसकेको छ भने सचिव भिउमान पुन हाल नेकपा एकीकृत समाजवादी पार्टीमा हुनुहुन्छ ।