Kakhara सबैको खबर सम्पूर्ण खबर
किसानका घर र बारीमा मन्त्री
बारीमा किसानसित मन्त्री केसी ।

पछिल्लो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिका ५, को गेरुवानी गाउँमा पहिलोपटक कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी पुग्नुभयो । त्यस अघि सजिलै कोही नपुग्ने उक्त गाउँमा मन्त्री केसी पुगेपछि किसान खुसी भए । किसानकै घरमा पुगेर मन्त्री केसीले किसानसँग भलाकुसारी गर्नुभयो । किसानले आफ्ना समस्या राखे, गुनासो गरे । किसानले घरमै प्रदेश सरकार पुगेको महशुस गरे ।

स्थानीय किसान लिलाराम ओलीले मन्त्री केसी नै गाउँमा आउँदा खुसी लागेको बताए । मन्त्री आफै किसानका गुनासा, दुःख, पीडा र किसानले गरेका प्रगती हेर्न आउनु भनेको किसानका लागि महत्वपूर्ण भएको ओलीको बुझाई छ । उहाँले कोरोना भाइरसका कारण आफू सहित अरु कुखुरा पालक किसानले ठूलो क्षेती व्यहोर्नु परेको गुनासो मन्त्री केसी समक्ष राख्नुभयो ।

मन्त्री केसी पहिलो पटक यसरी किसानको घरमा पुग्नुभएको भने होइन । त्यस अघि सल्यानका किसानको बारी, बाख्रा खोर र भैंसीको भकारोसम्मै पुगेर किसानका गुनासा, जिज्ञासा सुन्नुभएको थियो । सुर्खेत र सल्यान मात्रै होइन मन्त्री केसीले मन्त्रीको पदभाग ग्रहण गरेदेखि नै कर्णालीका १० वटैै जिल्लाका किसानसँग अन्तरक्रिया थाल्नुभएको थियो ।

किसानका घरघरमा पुग्न थाल्नुभएको थियो । सम्भव भएसम्म किसानको बारी, घर, खोर र भकारोसम्म पुगेपछि खास समस्या र चुनौतीका विषयमा जानकारी लिन सकिने र त्यसै अनुसार ऐन, नियम, कार्यविधि बनाउन सकिने निष्कर्ष सहित मन्त्री केसी किसानको घरघर जाने गर्नुभएको हो । किसानसित पुग्दा किसानले खुलेर कुरा राख्छन् । सल्यानको सिद्ध गाउँपालिकाका किसान मनबहादुर बुढाथोकीले किसानको खेतबारीमा पुग्ने मन्त्रीबाट बढी आशा हुने बताउनुभयो ।

‘अरु काम पर्दा बाटो पर्दा पस्ने कुरा अलग्गै हो, मन्त्री केसी त किसानलाई नै भेट्ने भनि गाउँ गाउँ डुल्नुहुन्छ, यसबाट पनि बढी अपेक्षा भइहाल्ने रहेछ,’ बुढाथोकीले भन्नुभयो । ‘म किसानकै छोरी, कृषि कर्म गर्दै हुर्केको पनि’ मन्त्री केसीले भन्नुभयो, ‘त्यसैले पनि म किसानसँगै रहन मन पराउँछु ।’ मन्त्रालयमा हुने महत्वपूर्ण अरु काम बाहेकको समय आफू खेतीबारीमै रमाउने गरेको मन्त्री केसीले बताउनुभयो । जति धेरै किसानसँग भेट्यो त्यति नै किसान र कृषिको बारेमा जानकारी संकलन हुने हुँदा किसानसितै रमाउन मन लाग्ने उहाँको भनाई छ ।

किसानसित बारीमा जाँदा खोर र भकारोमा पुग्दा आनन्द लाग्ने र ऐन, नियम, कानून, कार्यविधि बनाउन सहयोग पुग्ने अनुभव मन्त्री केसीले गर्नुभएको छ । यस अवधिमा उहाँलाई एउटा खड्केको विषय हो, सम्मान । किसान र कृषि पेशालाई सम्मानित पेशा बनाउन उहाँको जोड छ । ‘जसले सबैलाई खुवाउनका लागि योगदान गरिरहनु भएको छ,’ मन्त्री केसीले भन्नुभयो, ‘यही पेशा र कर्ममा लागेकाहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ ।’

कृषिलाई सम्मानित पेशा बनाउन लागि मन्त्रालय लागिरहेको छ । मेरो किसान, मेरो अन्नदाता नारा तय गरेर किसान र कृषिप्रतिको सम्मानभाव जनाउन सुरुवात गरिएको छ । प्रदेशका सबै मन्त्रालय र कार्यालयमा यो काम सुरु गरिएको छ । मुख्य मन्त्री कृषि पुरस्कारमा जोड दिइएको छ । उत्पादक नायक, नायिका घोषणा गर्ने र पुरस्कृत गर्ने गरी कार्य योजना र कार्यविधि बनेको मन्त्री केसीले जानकारी दिनुभयो । बीमामा आधारीत कृषक पेन्सन कार्यक्रमको तयारीमा मन्त्रालय जुटेको छ ।

यसका लागि आवश्यक कानून निर्माण र विधि प्रक्रियामा छलफल भइरहेको छ । यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्रीले केसीले बताउनुभयो । पेन्सन नै आउने भएपछि यसप्रतिको आकर्षण, लगाव बढ्ने र सम्मान महशुस हुन सक्ने भनाई मन्त्री केसीको छ । किसान र उनिहरुको कृषि कर्म भेट्नका लागि मन्त्री केसी प्रदेशका झण्डै १ सय २० गाउँ पुग्नुभएको छ भने सबै गाउँका धेरै भन्दा धेरै किसानका कृषि कर्म हेर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update