नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले पालिकाहरुमा ईञ्चार्ज तोकेको छ । आगामी कात्तिक ६ गते स्थानीय तहको सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले जिल्लाका ६ वटै पालिकाको ईञ्चार्जको जिम्मेवारी तोकेको हो । केन्द्रीय समितिको निर्णयानुसार टोल, वडा र पालिकाको सम्मेलन गर्ने गरी तयारी गर्ने निर्णय माओवादी केन्द्र रुकुम पश्चिमले गरेको छ ।
मुसीकोट नगरपालिकामा बुद्धिप्रसाद शर्मालाई नगर ईञ्चार्ज तोकिएको छ । त्यस्तै आठबीसकोट नगरपालिकामा गोर्खबहादुर केसी, चौरजहारी नगरपालिकामा पुष्प बादीलाई नगरपालिकाको ईञ्चार्ज तोकिएको छ । त्यस्तै पार्टीले गाउँपालिका अन्तरगत बाँफिकोट गाउँपालिकामा महेन्द्र केसी’ सानीभेरी गाउँपालिकामा केदार बिष्ट र त्रिबेणि गाउँपालिकामा गणेश केसीलाई पालिका ईञ्चार्जकाे जिम्मेवारी दिएकाे छ ।
पार्टीको जिल्ला समन्वय समिति बैठकले कात्तिक ६ गते एकैदिन ६ वटै स्थानीयतहको सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्ला समिति अब जिल्ला समन्वय समितिमा रुपान्तरित भएको पार्टीको जिल्ला समन्वय समिति सदस्य धिरण सिर्पालीले जानकारी दिनुभयो । बैठकले भदौ मसान्तसम्म सबै पार्टी सदस्यता नविकरण गरी सक्ने, असोज १० गते टोल र २० गते वडाको सम्मेलन गर्ने गरी तयारी गरेको छ ।
अब पार्टी सम्मेलनमा केन्द्रीत हुने गरी निर्णय भएको सिर्पालीले बताउनुभयो । मुसीकोट नगरपालिका ५, स्थित शहीद प्रतिष्ठानको हलमा बैठक बसेको थियो । पार्टीको जिल्ला समन्वय समितिमा सबै स्थानीय तहका अध्यक्ष, कर्णाली प्रदेशका सदस्यहरु रहेका छन् ।