Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा मुख्य मन्त्री रोजगार कार्यक्रमका लागि झण्डै ३० करोड

मुख्य मन्त्री रोजगार कार्यक्रमका लागि रुकुम पश्चिममा झण्डै ३० करोड बजेट आउने भएको छ । कर्णाली प्रदेश सरकारले मुख्य मन्त्री रोजगार कार्यक्रमका लागि यस जिल्लाका ६ स्थानीय तहलाई २९ करोड ६० लाख ७९ हजार रुपैयाँ दिने भएको हो । जिल्लाका सबै वडाले माग गरी पठाएका योजना र बजेट अनुसार प्रदेश सरकारले पुँजिगततर्फ १५ करोड ६९ लाख २२ हजार र चालुतर्फ १३ करोड ९१ लाख ५७ हजार गरी २९ करोड ६० लाख ७९ हजार बजेट प्राप्त गरेका हुन् ।

प्रदेश सरकारले जिल्लाका ७३ वडाले प्राप्त गर्ने बजेट समेट छुट्याएर पठाइदिएको छ । जिल्लाका नरपालिकाले ५ करोड बढी प्राप्त गरेका छन् भने गाउँपालिकाले ४ करोड बढी बजेट प्राप्त गरेका छन् । मुख्य मन्त्री रोजगार कार्यक्रमबाट आठबीसकोट नगरपालिकाले अरु स्थानीय तहभन्दा बढी ५ करोड ८९ लख २५ हजार बजेट प्राप्त गरेको छ । मुसीकोट नगरपालिकाले ५ करोड ६२ लाख ५४ हजार र चौरजहारी नगरपालिकाले ५ करोड ५४ लाख ९५ हजार बजेट प्राप्त गरेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा बढी सानीभेरी गाउँपालिकाले ४ करोड ४७ लाख ८६ हजार, त्रिवेणि गाउँपालिकाले ४ करोड ४ लाख ३६ हजार र बाँफिकोट गाउँपालिकाले ४ करोड १ लाख ८३ हजार बजेट प्राप्त गरेका छन् । प्रदेश सरकारले नै यि सबै स्थानीय तहका वडाको बजेट पनि विनियोजन गरेर पठाइदिएको छ । सम्बन्धित वडाले छनौट गरेको योजना र माग गरेको बजेट अनुसार बजेट आएको हो । उक्त बजेटको अख्तियारी सामाजिक विकास कार्यालयमा आएको छ ।

यसैले सम्बन्धित स्थानीय तह मार्फत बजेट कार्यान्वयन गर्ने जनाइएको छ । विषयगत कार्यालय र स्थानीय तहले कार्यान्वयन गर्ने गरी बजेटको अख्तियारी प्राप्त भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख खिम ढकालले यो वर्ष हरेक पालिकामा एक एक जना सहजकर्ता राखेर कार्यान्वयनमा थप सजिलो बनाइने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्यालयले नै सहजकर्ता नियुक्ति गर्ने र काममा लगाउने प्रमुख ढकालको भनाई छ । उक्त बजेट काम हेरेर खर्च गर्ने गरी कार्यविधि बनेको छ ।

विद्युत निर्माण बाहेकको काममा कुल बजेटका ७० प्रतिशत ज्याला दिनुपर्ने, ज्याला पनि बैंक मार्फत दिनुपर्ने कार्यविधि बनेको छ । विद्युत गृहको सन्दर्भमा भने ५० प्रतिशत बजेट सामग्री किन्नमा खर्च गर्न सकिने उल्लेख छ । रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार छन् । ६ वटै स्थानीय तहले संकलन गरेको तथ्याङ्क अनुसार १४ हजार २ सय ६६ जना बेरोजगार सूचीमा सूचिकृत भएका छन् । ६ वटै स्थानीय तहले निश्चित समय तोकेर रोजगारीका लागि नाम दर्ता गराउन वेरोजगारहरुलाई समय दिएका थिए ।

तोकिएको समयमा चालु आर्थिक वर्ष २०७७/०७८ का लागि वेरोजगारहरुले रोजगारीको माग गर्दै स्थानीय तहमा सूचिकृत भएका छन् । सबैभन्दा बढी त्रिवेणि गाउँपालिकामा ३ हजार ३ सय ५२ जना वेरोजगारहरु सूचिकृत भएका छन् । गाउँपालिकाका सबै १० वडाबाट उस्तै उस्तै संख्यामा वेरोजगारहरु सुचिकृत भएको गाउँपालिकाको रोजगार केन्द्रले जनाएको छ ।

त्यस्तै बाँफिकोट गाउँपालिकामा २ हजार ७ सय ५९, चौरजहारी नगरपालिकामा २ हजार ४ सय ३०, मुसीकोट नगरपालिकामा २ हजार १ सय ३६, आठबीसकोट नगरपालिकामा १ हजार ८ सय ४० र सानीभेरी गाउँपालिकामा १ हजार ७ सय ४९ वेरोजगारले रोजगारीको माग गर्दै सूचिकृत भएका छन् । यि बेरोजगारहरुलाई मुख्य मन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी प्रदान गरिने जनाएको छ ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले हरेक वडाबा ५/५ वटा योजना छनौट गरि पठाएकामा ३/३ वटा योजना पास भएर बजेट आएको बताउनुभयो । प्राप्त बजेट र योजनालाई अब कार्यविधि अनुसार कार्यान्वयन गरिने भनाई उहाँको छ । गाउँपालिकाका १० वडामा ३८ देखि ४३ लाखसम्म बजेट प्राप्त भएको र यसैबाट छनौट भएका योजना कार्यान्वयन सकेसम्म धेरैलाई धेरै दिन रोजगारी प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वय हुने जानकारी अध्यक्ष केसीले दिनुभयो । प्रदेश सरकारले परिपत्र गर्ने र कार्यपालिकाबाट आवश्यक निर्णय गराई काम गरिने अध्यक्ष केसीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update