जिल्ला मालपोत कार्यालय रुकुम पश्चिममा दुईदिनदेखि काम भइरहेको छैन । सेवाग्राहीको घुँइचो भएपनि कार्यालयले काम गरिरहेको छैन । कर्मचारी इन्टरनेटले काम नगरेको भन्दै बसेका छन् । यता टाढा टाढाबाट आएका सेवाग्राही पनि समस्यामा परेका छन् । कार्यालयमा जडान गरिएको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको इन्टरनेट नचल्दा दुई दिन देखि सबै काम ठप्प भएको बताइएको छ ।
मंगलबारदेखि कार्यालयमा अनलाइन सेवा प्राणाली अन्तरगतका सबै काम बन्द छन् । कार्यालयबाट हुने कामकाज अनलाइनबाट हुने भए पछि इन्टरनेट नहुदा सेवा दिन समस्या भएको मालपोत कार्यालयका प्रमुख गार्खबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ५०/६० जना सेवाग्राही आउने कार्यालयमा दुई दिनदेखि देखि एक जनाले पनि सेवाग्राहीले सेवा लिन सकेका छैनन् ।
कार्यालयमा एउटा मात्र इन्टरनेटको सर्भर रहेकाले पनि काम गर्न समस्या भएको उहाँको भनाई छ । मालपोत कार्यालयमा हुने काम सुविसुको सर्भरबाट मात्र हुने भएकाले अन्य इन्टरनेटको काम नभएको उहाँले बताउनुभयो । जग्गा तथा घरजग्गाको हक हस्तान्तरण, रोकुवा र फुकुवाजस्ता सेवा छिटोछरितो रूपमा सेवाग्रहीलाई उपलब्ध गराउन भन्दै सरकारले देशभरका मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु गरेको भए पनि इन्टरनेट नहुँदा काम गर्न समस्या भएको हो ।
कार्यालयमा इन्टरनेट नहुदा दुई दिन देखि सेवा नपाएको आठविसकोट नगरपालिका वडा नम्बर १० का धिरेन्द्रजंग शाहले जानकारी दिुनभयो । मंगलबार विद्यालयको जग्गाको काममा आएको भए पनि आज सम्म काम नभएको उहाँले गुनासो गर्नुभयो । ‘विद्यालयको जग्गा नामसारीको काम थियो, आएको पनि दुई दिन भयो, तर कर्मचारीले भने ईन्टरनेट छैन भन्छन् ।’ उहाँले भन्नुभयो, ‘यसरी त हामीले कहिले सेवा पाउला र ? इन्टरनेट आउला र सेवा पाउला भन्दै सेवाग्राहीहरु मालपोत कार्यालयमा कुरेर बसेका छन् ।
तर दुई दिन देखि इन्टरनेट नआउदा भने काम नगरेर फर्कनु परेको छ । ‘नेट आउलाकी भनेर दिन भर कुरेर बसे तर साँझ कर्मचारीले नेट आएन भन्दै फर्कउछन् ।’ अर्का एक सेवाग्राहीले भने । कार्यालयमा नेट कहिले आउने हो निश्चित नभएको कर्मचारीको भनाई छ । नेटमा समस्या आएकोले बाहिरबाट समान ल्याउन पर्ने भएकाले केही लाग्न सक्ने इन्टरनेट सेवा प्रदायक कम्पनीले बताएको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।