Kakhara सबैको खबर सम्पूर्ण खबर
गाँजा नष्ट अभियानमा रुकुम पूर्व प्रहरी

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जिल्लाको माथिल्लो  क्षेत्रमा अवैध रुपमा खेती हुँदै आएको गाँजाखेती फडानी अभियान चलाएको छ । जिल्लाका  तीन वटै स्थानीय तहको माथिल्लो क्षेत्रमा गरिएकाे अवैध रुपमा प्रशस्त गाँजा खेती हुने गरेको छ । गाँजाको गेडाको अचार खान र बोटको लोक्ताबाट विभिन्न सामग्री निर्माण गर्न खेती गरिँदै आइएको छ । 

तर जिल्लामा लागु पदार्थ चरेस ओसार पसार हुने भएपछि प्रहरी गाँजा खेती नष्ट तर्फ लागेको हो । जिल्लाका विभिन्न चौकीबाट खटिएको प्रहरी टोलीले गाँजा खेती नष्ट गर्ने गरेको छ । इलाका प्रहरी कार्यालय काँक्रीबाट प्रहरी नायव निरीक्षक सुविन शाहको कमाण्डमा खटिएको टोलीले गत २९ गते विभिन्न ठाउँमा गाँजा खेती फडानी गरेको थियो । 

उक्त टोलीले  भुमे गाउँपालिका २ गावाङको नेटा स्थित विभिन्न स्थानमा अवैध  रूपमा १२ रोपनी क्षेत्रमा लगाइएको गाँजा खेती फँडानी गरेको हो । त्यस्तै गत २३ गते अस्थायी प्रहरी पोष्ट कोलका  इन्चार्ज  प्रहरी सहायक निरीक्षक गणेशबहादुर विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १२ को धातिवाङ र आसपासका क्षेत्रको ६  रोपनी जग्गामा लगाइएको अवैध लागु औषध गाँजा खेती फडानी गरेको जिल्लाप्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update