कुनै समय परम्परागत काठका डुंगा चल्ने रुकुम पश्चिमको स्यार्पूतालमा हाल भने उक्त डुंगा भेटिन्नन् । स्थानीयसंग एकाध काठका डुंगा छन् । ति डुंगा सामान ओसारपसारमा प्रयोग भएको पाईन्छ । तर एकदमै कम मात्रामा । काठका डुंगाले धानेको स्यार्पूतामा हाल भने आधुनिक खालका डुंगा चल्न थालेका छन् । पछिल्ला केहि वर्ष देखि आधुनिक डुंगाले काठका डुंगालाई पूर्णरुपमा विस्थापित नै गरेका छन् । पहिलो पटक २०७४ को साउनमा तालमा र्याफ्टिङ संचालनमा ल्याईएको थियो । काठको डुंगामा असुरक्षित रुपमा ताल सयर गर्नुपर्ने बाध्यतामा रहेका पर्यटकलाई र्याफ्टिङ संचालनमा आएपछि राहात मिल्यो । यसमा धेरैको आकर्षण देखियो । त्यसको केही वर्षपछि तालमा थप सुरक्षित आधुनिक वोट हालियो । घर जस्तो आकारको उक्त वोटले धेरैलाई तालसम्म तान्ने काम गर्यो ।
हाल त्यस्ता वोटहरु थपिएका छन् । अहिले ५ वटा नयाँ बोट हालिएको छ । ताल हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई ताल सयर गराउनका लागि स्थानीयले वोटमा लगानी गरेका छन् । तालमा अहिले ५ वटा वोट र एउटा र्याफ्टिङ संचालनमा रहेको वोट संचालक बलबहादुर केसीले बताउनुभयो । तालमा वोट थपिदै गएपछि ताल हेर्न आउनेहरुको संख्या समेत बढ्दै गएको उहाँले बताउनुभयो । ‘हाल तालमा पुगेका मान्छेहरु डुंगा चढेर तालको अवलोकनमा निस्किन्छन, तर हिजोका दिनमा त्यस्तो थिएन, उहाँले भन्नुभयो–असुरक्षित देखेपछि धेरै ताल मात्र हेरेर फर्किन्थे, डुंगा चढ्दैन थिए ।’
तर हाल भने सुरक्षित देखेपछि ताल हेर्न पुगेका कोही पनि डुंगा नचढी नफर्किने केसीको भनाई छ । आफ्नो डुंगामा मात्र दैनिक औषतमा १० जनाभन्दा बढी मान्छे चढ्ने गरेको उहाँले बताउनुभयो । डुंगाबाट मासिक ३० हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक औषतमा ३०÷४० जना मान्छे ताल हर्न पुग्ने गरेका छन् । तालमा डुंगा हाल्नका लागि स्थानीय स्यार्पूताल कृषि सहकारी संस्थाको अनुमति लिनुपर्छ । यसका लागि वार्षिक १५ हजार रुपैंया शुल्क तोकिएको बताईएको छ ।