Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालबाटै नियमित स्वास्थ्य सेवा 

जिल्ला अस्पताल रुकुम पश्चिमबाट चार महिनापछि नियमित स्वास्थ्य सेवा प्रवाह सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो भेरियन्ट रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्ला अस्पताललाई गत बैशाख अन्तिम देखि कोभिड अस्थायी अस्पताल बनाईएको थियो । जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने र नियमित स्वास्थ्य सेवा नजिकै रहेको नीजि अस्पताल राप्ती समाजबाट दिन थालिएको थियो ।

जिल्ला अस्पतालबाट कोभिड सम्बन्धी सेवा मात्र दिने गरिएको थियो । त्यसबाहेक अन्य सेवा बाहिरबाट दिने गरिएको थियो । मुसीकोट नगरपालिकाले मासिक २ लाख भाडा तिरेर नीजि अस्पताललाई भाडामा लिएको थियो । पछिल्लो समय भने जिल्लामा कोरोना भाइरसको संक्रमण घट्दै गएपछि नीजि अस्पतालबाट प्रवाह भइरहेको नियमित स्वास्थ्य सेवा जिल्ला अस्पतालबाट दिन सुरु भएको छ । अव सबै नियमित सेवाहरु अस्पतालबाटै प्रवाह हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

यसअघि प्रसुति, एक्सरे लगायतका केही सेवा बाहेक अन्य सबै नियमित स्वास्थ्य सेवा अस्पताल बाहिर बाटै अर्थात नीजि अस्पतालबाट दिने गरिएको थियो । सेवा भने जिल्ला अस्पतालकै स्वास्थ्यकर्मीहरुले दिने गरेका थिए ।   
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update