Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा पत्रकारको क्षमता अभिबृद्धि तालिम

रुकुम पश्चिम र पूर्वमा कार्यरत पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सहकार्यमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको सूचना तथा प्रसारण विभागले तालिम आयोजना गरेको हो । मुसीकोटमा आजबाट सुरु भएको तालिम असोज ४ गतेसम्म संचालन हुने छ ।

तालिममा पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न कुराहरु सिकाईने नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जनाएको छ । तालिममा प्रशिक्षणका लागि काठमाडौंबाटै प्रशिक्षक आएका छन् । तीन दिन चल्ने तालिममा रुकुम पश्चिम र पूर्वका पत्रकारहरुको सहभागिता रहेको छ । 

त्यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ति शिविर पनि सुरु भएको छ । रुकुम पश्चिम र पूर्वका पत्रकारहरुलाई लक्षित गरेर घुम्ती शिविर आयोजना गरिएको हो । यो शिविर पनि सूचना तथा प्रशारण विभागले नै आयोजना गरेको हो । क्रियाशिल रहेका तर प्रेस प्रतिनिधि प्रमाणपत्र नपाएका पत्रकारहरुलाई लक्षित गरेर जिल्लामै शविर आयोजना गरिएको हो । नयाँ प्रमाणपत्र वितरण सहित नविकरणको सेवा प्रवाह हुने बताईएको छ ।

यो प्रमाणपत्रका लागि काठमाडौं जानुपर्ने बाध्यता रहेको छ । जसका कारण मोफसलमा कार्यरत अधिकांश पत्रकारहरु प्रेस प्रनिनिधि प्रमाणपत्र विहिन अवस्थामा रहेका छन् । जिल्लामै शिविर आयोजना गरिएपछि भने रुकुम पश्चिम र पूर्वका पत्रकारहरुले लाभ लिने भएका छन् । प्रमाणपत्र भोलीसम्म वितरण गरिने नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update