राष्ट्रिय जनगणना २०७८ अन्तरगत घर तथा घर परिवार सुचिकरणका लागि रुकुम पश्चिममा ५७ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जिल्लाका ६ स्थानीय तहका ७३ वटै वडाका घर घरमा पुग्नेगरी ५७ जना सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । भदौ ३० गतेबाट सुरु भएको घर तथा घर परिवार सुचिकरण कार्यक्रम असोज १८ गतेसम्म संचालन हुने जिल्ला जनगणना अधिकारी शतिशकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार २० दिनसम्म घर तथा घर परिवारको सुचिकरण फारम भरेर प्रारम्भिक नतिजा निकाल्ने काम गरिने छ ।
यो चरणमा सुपरिवेक्षकले घरको संख्या, घरको प्रयोजन, परिवार संख्या, परिवारको आकार, कृषि योग्य जमिन, पशुपंक्षि, सरकारी अनुदानमा निर्माण भएका आवास भवनको संख्या पत्ता लगाउनुका साथै बैंक तथा वित्तीय संस्थामा पहुँच लगायतको अवस्था मापन गरिने जनगणना अधिकारी चौधरीले बताउनुभयो । यो कार्य सकिएपछि यसका आधारमा जनगणना हुने छ । देशभरमा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन जनगणना हुने छ । नेपालमा प्रत्यक १०÷१० वर्षमा जनगणना हुने गरेको छ । २०६८ पछि अहिले जनगणना हुन लागेको हो । यसअघि तोकिएको तालिका कोभिड महामारीले प्रभावित बनेको थियो ।
जनगणनाका लागि जिल्लामा ३ वटा स्थानीय जनगणना कार्यालय रहेका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा रहेका कार्यालयले २÷२ वटा पालिका हेर्ने छन् । मुसीकोटले त्रिवेणि, चौरजहारीले सानीभेरी र आठबीसकोटले बाँफिकोट गाउँपालिकालाई पनि हेर्ने छ । स्थानीय जनगणना कार्यालयमा पनि स्थानीय तहले एक÷एक जना जनगणना अधिकारी खटाएका छन् ।