रुकुम पश्चिममा संचालन गरिएको प्रेस प्रतिनिधि प्रमाणपत्र बितरण घुम्ती शिविरबाट ३५ जना पत्रकारहरुलाई नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको छ । मुसीकोट खलंगामा असोज २, ३ र ४ गते संचालन भएको शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नविकरण, अनलाईन दर्ता तथा नविकरण लगाएतका काम गरिएको हो ।
उक्त शिविर मार्फत २ जना पत्रकारहरुको प्रेस पास नविकरण गरिएको छ भने २ वटा अनलाइन नविकरण र १ वटा नयाँ अनलाइन दर्ता गरिएको छ । दुइ जिल्ला रुकुम पश्चिम र रुकुम पूर्वका संचारकर्मी तथा पत्रकारहरुले शिबिर मार्फत सेवा लिएका छन् । दुर्गमका पत्रकारहरुको सहजताका लागि नेपाल पत्रकार महासंघ रुकुमको समन्वयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले शिविरको आयोजना गरेको हो ।
प्रेस पास लिनका लागी काठमाडौं जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्लामै पुगेर सेवा दिने उदेश्यले घुम्ती शिविर आयोजना गरिएको सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले बताउनुभयो ।