Kakhara सबैको खबर सम्पूर्ण खबर
छर्लक्क स्यार्पू ! (फोटो फिचर) 

रुकुम पश्चिमको स्यार्पू ताल कर्णाली प्रदेशकै प्रमुख प्रर्यटकीय स्थल हो । सदरमुकाम मुसीकोटसंग जोडिएको बाँफिकोट गाउँपालिकाको वडा नम्बर तीन र पाँचमा फैलिएको यो ताल विशेष गरी वर्खायाममा हेर्न लायक हुन्छ । २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पू तालको आकार भने वर्खा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा बर्खामा तालको आकार झण्डै दोब्बर हुन्छ । जेठ अन्तिम र असार पहिलो साताबाट भरिन सुरु गरेको ताल श्रावणको मध्यतिर आईपुग्दा पुरा भरिन्छ । भरिभराउ ताल भाद्र देखि असोज महिना भरी अवलोकणका लागि उपयुक्त मानिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल रमणिय देखिन्छ । बजारको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त छ । 

तालको सुन्दरता अवलोकण गरेर दुःखलाई भुलाउँन सकिन्छ भने आफैले बोटिङ गरेर मजा लिन सकिन्छ । परम्परागत काठका डुंगा विस्थापित गरेर ताल अवलोकणका लागि आउनेहरुका लागि ¥याफ्टिङ र आधुनिक डुंगाको व्यवस्था छ । धित मरुञ्जेल ¥याफ्टिङ र बोटिङको मजा लिन सकिन्छ । विशेषगरी तालबाट काठका डुंगा विस्थापित गरेर आधुनिक डुंगा राखिनु तथा खान र वस्नका लागि होम स्टेईहरु संचालन गरिनुले यहाँ घुम्न आउँनेहरुको संख्यामा बृद्धि भएको होम बोट संचालक बलबहादुर केसी बताउनुहुन्छ । उहाँका अनुसार मान्छेहरु छुट्टी मनाउँनका लागि आउँने गरेका छन् । ताल हेर्न आएकाहरु ढुंगा नचढी नफर्किने उहाँको भनाई छ । तालमा आधुनिक ढुंगा राख्दा आगन्तुकको संख्या बढ्को उहाँले बताउनुभयो । 

पहाडको टुप्पोबाट बगेर आउँने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको विश्वास छ । जडिबुटी सहितको पानी तालमा मिसिने स्थानीय बताउँछन् । 

ठोस योजनाको आवश्यकता  
आवश्यक प्रचार तथा ठोस योजनाको अभावमा अहिलेपनि धेरै मानिसहरु स्यार्पू तालका बारेमा अनविज्ञ छन् । पर्यटनको प्रचुर सम्भावना भएपनि यहाँको पर्यटन प्रबद्र्धनमा सरोकारवालाहरु मौन वस्दा स्यार्पूताल गुमनाम छ । केही न केही गतिविधि गरेर प्रचार प्रसारको प्रयास गरिएपनि ठोस योजना बनेको छैन् । वर्षेनि विभिन्न शिर्षकमा प्रदेश तथा संघ सरकारबाट बजेट आइरहेको छ । स्थानीय तहको पनि बजेट केन्द्रीत छ । तर ठोस गुरुयोजनामा भने काम भएको पाईदैन् । संरक्षणका नाममा ठूलो रकम खर्च हुँदा पनि ठोस काम भने भएको देखिदैन् । अझ संरक्षणका नाममा भएका कामले तालको अस्तित्वलाई जोखिममा पारेको छ । ताल संकटमा पर्दै गएको छ । 

तालको संरक्षण र प्रचारका लागि ठोस योजनामा काम गर्नुपर्ने जानकारहरु बताउछन् । पर्यटनको क्षेत्रमा काम गर्ने पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव गोपाल केसी स्यार्पूको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले मुख्य तीन कुरामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । सर्वप्रथम गुरुयोजना निर्माण, स्यार्पू तालका लागि आएको बजेटलाई पारदर्शि बनाउँने र उक्त बजेटलाई उत्पादन मुलक कार्यक्रममा खर्च गर्नुपर्नेमा उहाँको जोड छ । यति गर्नसकेमा स्यार्पूको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उहाँको विश्वास छ । अहिले सरदरमा दैनिक ३० बढी आन्तरीक पर्यटक स्यार्पू ताल अवलोकणका लागि पुग्छन् । वार्षिक ५० बढी विदेशी पर्यटक पनि ताल अवलोकणका लागि पुग्ने गरेको बताईन्छ । 

कसरी पुग्ने ?
स्यार्पूताल पुग्नका लागि सदरमुकामबाट धेरै सडकको प्रयोग गर्न सकिन्छ । पैदल हिडेर पनि तालमा पुग्न सकिन्छ । मुसीकोट खलंगाबाट करिब २० किलोमिटर दुरी पार गरेपछि स्यार्पू पुग्न सकिन्छ । सदरमुकाम मुसीकोट खलंगाबाट नियमित दैनिक बाँफिकोटका लागि जीप लाग्छन् । बाह्रै मास यातायातको सुविधा छ । रिजर्भ तथा आफ्नै गाडि वा मोटरसाईकल लिएर सिधैं स्यार्पू ताल पुग्न सकिन्छ । तालसम्मै यातायातको पहुँच छ । सदरमुकाम मुसीकोटबाट गाडीमा करिब दुई देखि अढाई घण्टाको विचमा स्यार्पू पुग्दा पैदल भने करिब चार घण्टा बढी लाग्छ । यात्रा त्यति धेरै महंगो पनि छैन् । जिल्ला सदरमुकाममा विभिन्न जिल्लाबाट स्थल तथा हवाई मार्गबाट आउन सकिन्छ । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update