नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्माले नेपालको संविधानको अपहरण भएको बताउनुभएको छ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले नै संविधानको अपहरण गरेको नेता शर्माको भनाई छ । प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष गरेकोप्रति असहमति जनाउँदै नेता शर्माले प्रधानमन्त्री ओलीबाट संघीय, लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण भएको टिप्पनी गर्नुभएको हो । ‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संघीय, लोकतान्त्रिक गणतन्त्र नेपालको अपहरण गरेका छन्, यसको रक्षाका लागि सबै तयहार होऔं,’ नेता शर्माले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्नुभएको छ ।
प्रधानमन्त्री ओली आइतबार विहान मन्त्री परिषद्को आकष्मिक बैठक डाक्नुभएको थियो । सोही बैठकबाट अरु मन्त्रीको अहसमति हुँदा हुँदै ओली प्रतिनिधि सभा विघटनको प्रस्ताव सहितको सिफारिस लिएर राष्ट्रपति निवास जानुभएको थियो । उक्त सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिसक्नुभएको छ । प्रतिनिधि सभा विघटन गरी राष्ट्रपति भण्डारीले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति समेत तोक्नुभएको छ ।