नेपाली कांग्रेस रुकुम पश्चिमले सबै पालिकामा शनिबार अधिवेशन गरेको छ । कांग्रेसले शनिबार सबै ६ वटै पालिकामा प्रथम अधिवेशन गरेको हो । अधिवेशनबाट नेतृत्व चयन गरिएको छ । मुसीकोट बाहेक अन्य सबैमा सहमतिमा नेतृत्व चयन भएको छ । मुसीकोटमा भने सहमति नजुट्दा चुनाव नै गर्नुपर्यो । केही पालिकाको सबै पदाधिकारीहरुको टुंगो लाग्न बाँकी छ भने केहीमा टुंगिएको छ । तीन गाउँपालिका र तीन नगरपालिकामा सभापतिको भने टुंगो लागिसकेको छ ।
मुसीकोट नगरपालिकामा प्रेम ओली विजयी हुनुभएको छ । समिरजंग मल्ललाई पराजित गर्दै ओली सभापतिमा विजयी हुनुभएको हो । कुल २ सय ३७ मत खसेकामा ओलीको पक्षमा १ सय ६० मत पर्दा मल्ललाई ६६ मत मात्र पर्यो । मुसीकोटमा सभापति सहित उप सभापति, सचिव र सह सचिव गरी ४ पदमा नेतृत्व चयन गर्न मतदान भएको थियो ।
चौरजहारीमा प्रेमबहादुर ओली सर्वसम्मत सभापति बन्नुभएको छ । शनिबार नै ओलीका नाममा सहमति जुटेको थियो । तर अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको छ । केही पदमा टुंगिन बाँकी रहेको र आज टुंगिने कांग्रेस चौरजहारीले जनाएको छ ।
आठबीसकोटमा अमृत बोहरा सभापति बन्नुभएको छ । अन्य पदमा भने टुंगो लाग्न बाँकी रहेको कांग्रेसले जनाएको छ । बाँफिकोटमा जनककुमार बाँठा, त्रिवेणिमा दिपेन्द्र ओली र सानीभेरीमा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजसम्ममा सबै विवरण आईपुग्ने कांग्रेस रुकुम पश्चिमको भनाई छ ।