Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटको ‘कमाण्ड’मा कमाण्डर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम अन्तर्गतका तीन गाउँ र तीन गरपालिकाले पूर्णता पाएका छन् । पार्टीको कर्णाली प्रदेश समिति बैठकको निर्णय अनुसार गाउँ तथा नगर समितिमा अध्यक्ष र सचिवको पदपुर्ति गरेर परिचालन गरिएको छ । यसमध्यमा मुसीकोट नगरपालिकामा पनि रिक्त पद पुर्ति गरिएको छ । मुसीकोट नगरपालिकामा माओवादी केन्द्रको सचिव पद रिक्त थियो । त्यसमा पछिल्लो पटक धिरण सिर्पालीलाई ल्याइएको छ ।

धिरण सिर्पाली सचिवमा आएसँगै मुसीकोट नगरपालिका अब कमाण्डरको कमाण्डमा पुगेको छ । मुसीकोट नगरको अध्यक्षमा जयबहादुर पाण्डे पहाड हुनुहुन्छ भने सचिवमा धिरण सिर्पाली विमर्शलाई ल्याइएको छ । पहाड र विमर्श दुवै जनयुद्धका कमाण्डर हुन् । शान्ति स्थापनापछि पार्टी राजनीतिमा जोडिएका दुवै जना जनयुद्धमा सैन्य कमाण्डर थिए । 

अध्यक्ष पाण्डे जनमुक्ति सेनाको बटालिय कमाण्डरबाट अवकाश रोजेर राजनीतिमा होमिनु भएको थियो । उहाँ जनयुद्धको क्रममा सेल सेक्रेटरी, एरीया समिति सदस्य, एरीया समिति सेक्रेटरी, जिल्ला समिति सदस्य, जिल्ला समिति सचिवालय सदस्य, सेनामा हुँदा पार्टीको उपव्युरो सदस्य, मगरात राज्य समिति सदस्य केन्द्रीय महाविधेशन आयोजक समिति सदस्य हुनु भएको थियो । पछिल्लो पटक उहाँ मुसीकोट नगर समितिको अध्यक्ष, जिल्ला समन्वय समिति सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँ सेनामा कम्पनी कमाण्डर, बटालियन सहायक कमाण्डर र बटालियन कमाण्डर बन्नुभएको थियो । ज्वार स्मिृति बिग्रेडको चौथो बटालियनको कमान्डिङ उहाँले गर्नुभएको थियो । सचिव सिर्पालीले पनि कम भूमिका निर्वाह गर्नुभएको छ । उहाँ कम्पनी कमाण्डरसम्म हुनुभयो । त्यसपछि व्यवस्थापक कमाण्डर भएर भूमिका निर्वाह गर्नुभयो । विद्यार्थीकालदेखि राजनीतिमा लागेका सिर्पाली कम्पनी कमाण्डरपछि अवकाश पाएर वाइसीएलको राजनीतिमा आउनुभएको थियो ।

उहाँ २०५३ सालमा विद्यार्थी संगठनमा संगठित भइ २०५५ सालमा अखिल क्रान्तिकारी त्रिवेणि माविको मावि इकाई सचिव, २०५६ साल जेठमा पूर्णकालिन भएर पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । २०५७ सालमा सेल सेक्रेटरी र सिस्ने साँस्कृतिक परिवारको सदस्य  जिल्ला कलाकारको भूमिका निर्वाह गर्नुभयो । २०५८ मा पार्टी रिया सदस्य २०५९ मा जिल्ला कलाकारको उपाध्यक्ष र एरिया सचिवालय सदस्य, २०६०  मा सिस्ने साँस्कृतिक परिवार रुकुमको सदस्य र पार्टी जिल्ला सदस्य बन्नुभएको थियो ।

२०६१ सालमा जनमुक्ति सेनामा भर्ती भएर प्लाटुन कमान्डरको जिम्मेवारी निर्वाह गर्नुभयो । २०६२ सालमा  जनमुक्ति सेनाको कम्पनी सहायक कमान्डर, २०६३ मा कम्पनी कमान्डर र पाचौं डिभिजन अन्तर्गत दिर्ध स्मृति विग्रेडको दाङ संग्रामको व्यवस्थापक कमान्डर बन्नुभएको थियो ।  २०६४ मा वाइसीएल निर्माणको लागि रुकुम जिल्लामा पार्टीले जिम्मेवारी दिएको थियो । त्यतिबेला पनि उहाँ जिल्लाको पार्टी जिल्लाको सचिवालय सदस्य हुनुहुन्थ्यो ।

वाइसीएल २ नम्बर निर्वाचन क्षेत्रको ईन्चार्ज साथै पहिलो संविधान सभा निर्वाचनको युवा परिचालक कमान्डर बनेर भूमिका निभाउनुभयो । २०६६ मा वाईसीएल मगरात राज्य सचिवालय  सदस्य  सदस्य, २०६७ मा वाइसीएल जिल्ला उपाध्यक्ष एवं पार्टी जिल्ला सचिवालय सदस्य, २०६९ देखि २०७३ सम्म २ कार्यकाल वाइसीएल रुकुमको अध्यक्ष र केन्द्रिय सचिवालय सदस्यको भूमिका निर्वाह गर्नुभयो ।

२०७४ मा वाइसीएलको  केन्द्रीय सचिव कर्णाली प्रदेश सह ईन्चार्ज बनेर भूमिका निभाउनुभयो । त्यसपछि नेकपा रुकुमको सचिवालय सदस्य हुँदै हाल नेकपा माओवादी केन्द्र  मुसीकोट नगरको सचिव तथा पार्टीको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ । 

यी दुवै जनयुद्धकालिन कमाण्डरलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको छ । दुवै युवाले सदरमुकामको नगरपालिकाको नेतृत्वदायी भूमिका पाउनुभएको छ । निरन्तरको छलफल, जनतामा जानसकेपछि नगरलाई एउटा अवस्थामा ल्याउन सकिने विश्वास दुवैको छ । हाल दुवै जना संगठन निर्माणका लागि पार्टी तथा भातृ संगनको संगठन निर्माण, परिचालन, सदस्यता वितरण, नविकरणमा लाग्नुभएको छ ।

‘जनतामा समस्यामा छैन, समस्या नेता कार्यकर्तामै हो,’ सचिव सिर्पालीले भन्नुभयो ‘अलि अलि शुद्धिकरण, आत्मालोचना गरेर अघि बढ्न सके खास समस्या छैन, जनता हामीसित छन् ।’ टिम स्प्रिटमा काम गर्न सकेपछि कमजोरी देखाएर जनतामा गई सच्च्याउन सकेपछि अवस्था खास असजिलो भइ नसकेको बुझाई अध्यक्ष पाण्डेको छ । ‘हेरौं लागिएकै छ, पार्टी, नेता कार्यकर्ता र जनता लागेका छौं, अपेक्षित परिणाम ल्याउने प्रयत्न भइरहेको छ,’ अध्यक्ष पाण्डेले भन्नुभयो । 
 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update