Kakhara सबैको खबर सम्पूर्ण खबर
किन गइरहन्छ रुकुम पश्चिमको विजुली ?

सल्यानको शितलपाटी सव–स्टेसन देखि रुकुम पश्चिम सम्म आउने ११ केभीए विद्युत लाइनमा समस्या आउदा रुकुम पश्चिममा विद्युत अनियमित भएको छ । रुकुम पश्चिम र शितलपाटी बिचको कुन ठाउँमा के समस्या छ भन्ने पत्ता नलाग्दा जिल्लामा बारम्वार बत्ति जाने समस्या रहेको छ । जिल्ला केन्द्रिय प्रशारण लाइनमा जोडिए देखि नै यस्तो समस्या आउने गरेको छ । विगत एक हप्ता देखि भने झनै विद्युत आउने जाने समस्याका कारण उपभोक्ता आजित भैसकेका छन् ।

शितलपाटीदेखि रुकुम विचको विभिन्न ठाउँमा फल्ड खाने समस्याका कारण बिद्युत नियमित हुन नसकेको नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र खंलगाका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो । रुकुम सम्म आएको लाइनको लामो दुरी हुनु, पोलहरु कमजोर हुनु र तारहरुले रुखमा छुदा विभिन्न समस्या आउने गरेको प्रमुख भट्टराईको भनाई छ । उहाँका अनुसार एक ठाउँमा बनाए पनि अर्को ठाउँमा विग्रदा विद्युत आपुर्तिमा निकै समस्या भएको हो ।

कुन ठाउँमा के समस्या छ भन्ने पत्ता नलाग्दा लामो  समय सम्म विद्युत आपुर्तिमा समस्या हुने गर्छ । अहिले रुकुम पश्चिममा शितलपाटी सव–स्टेसन र जाजरकोटको कुदु सव–स्टेसनबाट विद्युत आपुर्ति हुँदै आएको छ । दुवै सव–स्टेसन जिल्लाबाट निकै टाढाको दुरीमा रहेका कारण पनि विद्युत आपुर्तिमा समस्या भएको प्रमुख भट्टराईले बताउनुभयो । कुदु सव–स्टेसनबाट आपुर्ति गरिएको विद्युतमा पनि निकै समस्या आउने गरेको छ । बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पु पावर हाउसबाट पनि कम विद्युत उत्पादन हुने भएकाले विद्युत वितरणमा समस्या भएको हो ।

 करिव एक हप्ता देखि विद्युत सेवा अनियमित हुँदा उपभोक्ता ठुलो मारमा परेका छन् । झ्याप–झ्याप आउने र जाने विद्युतका कारण आजित भएको उपभोक्ताको भनाई छ । जिल्लाका धेरै ठाउँमा विद्युत विस्तार भएको छ ।  तर प्राधिकरणको विद्युत नियमित नहुँदा भने उपभोक्ता अध्यारोमा बस्न बाध्य छन् । रुकुम पुर्वमा पनि प्राधिरकणको विद्युत विस्तार गरिएको छ । त्यस्तै धैरेनीचौरको सव–स्टेसन सञ्चालनमा भने ढिलाई भएको छ ।

साउन देखि ३३ केभीए प्रशारण लाइन परिक्षण सुरु गरिएको भए पनि वर्खाको कारण देखाउदै उक्त काम रोकिए पछि सव–स्टेसन सञ्चालन हुन नसकेको हो । भदौ पहिलो साता सव–स्टेसन सञ्चालन गरी जिल्लामा सहज विद्युत आपुर्ति गर्ने योजना बनाएको नेपाल विद्युत प्राधिकरणले ३३ केभीए प्रशारण लाइनको परीक्षणको काम रोकेको छ । जिल्लामा विद्युत आपुर्तिमा समस्या हुने भएकाले ३३ केभीए प्रशारण लाइनको परीक्षणको काम रोकिएको वितरण केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

३३ केभीए प्रशारण लाइनको परीक्षण गर्दा हाल जिल्लामा आपुर्ति हुँदै आएको ११ केभीए लाइन काट्नु पर्ने हुन्छ यसरी ११ केभीए लाइन काट्दा जिल्लामा लामो समय सम्म विद्युत अवरुद्ध हुने हुँदा ३३ केभिए प्रशारण लाइन परीक्ष्णको काम रोकिएको हो । अव वर्खा सकिए लगत्तै सल्यानबाट ३३ केभीए प्रशाण लाइनको परिक्षणको काम सुरु गरिने र जाजरकोटको कुदुबाट विद्युत आपुर्ति गर्ने योजना रहेको प्रमुख भट्टराईको भनाई छ । धैरेनीचौरमा निर्माण भएको सव–स्टेसन सञ्चालनमा आएपछि जिल्लामा विद्युत आपुर्तिमा सहज हुने उहाँको भनाई छ ।


 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update