रुकुम पूर्वको २ वडाका सर्वसाधारणले गाउँमै बैंकिङ सेवा पाएका छन् । सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडाका जेष्ठ नागरिक र बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नका लागि बैंकिङ सेवा लिएर नेपाल बैंक गाउँमै पुगेको थियो । २ नम्बर वडाको नायगाडमा बैंकका कर्मचारी पुगेर सेवा प्रवाह गरेका हुन् ।
१ नम्बर वडा सिस्नेका सेवाग्राही सेवा लिन २ नम्बर वडाको नायगाडमै पुगेका थिए । यो शिविरबाट २ सय ८६ जनाले सेवा लिएको २ नम्बर वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । शनिबार, आइतबार र सोमबार नायगाडबाट सेवा प्रवाह गरिएको थियो ।
सर्वसाधारणहरु सेवा लिनका लागि रुकुमकोट पुग्न असहज हुने भएकाले गाउँमै सेवा प्रवाहको व्यवस्था मिलाइएको वडाध्यक्ष केसीले बताउनुभयो । यस शिविरको क्रममा जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता वितरण गरिएको छ । यो गत आर्थिक वर्षको भत्ता हो ।
टाढा र असजिलो भएका कारण सर्वसाधारणले उक्त भत्ता लिएका थिएनन् । गत आर्थिक वर्ष २०७७/०७८ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता वितरण गरिएको हो । चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता भने अब वितरण गरिने जनाइएको छ ।
सामाजिक सुरक्षा भत्ता, पोषण भत्ता लगायतका भत्ता बैंकिङ प्रणालीमा गएपछि सर्वसाधारणले असजिलो भएको छ । टाढा र दुर्गमबासीले बैंकिङ प्रणालीबाट दिइएको सामाजिक सुरक्षा भत्ता बुझ्न सर्वसाधारणलाई असजिलो भइरहेको छ । सिस्ने गाउँपालिकाका ८ मध्य १ र २ नम्बर वडा सडक सञ्जालमा जोडिएका छैनन् ।