Kakhara सबैको खबर सम्पूर्ण खबर
राजनीतिको साथमा कृषि कर्ममा रम्दै यी नेता
समाजवादीका केन्द्रीय सदस्य कामीको तरकारी खेती अन्तर्गत टमाटर खेती ।

पछिल्लो समय उपेन्द्रलाल कामी नियमित समयतालिकामा हुनुहुन्छ । । विहान ५ बजेदेखि ९ बजेसम्म बारीमा । बेलुका ५ बजेपछि अँध्यारो नहुँदासम्म पनि कामीलाई बारीमा कुटो, कोदालो र कृषि यन्त्रसित भेटाउन सकिन्छ । त्यो बीचको समयमा भने उहाँलाई बारीमा भेटाउन मुस्किल हुन्छ । विभिन्न छलफल, भेला र बैठकहरुमा कामीको व्यवस्तता रहन्छ ।

सार्वजनिक विदा र पर्वहरुमा पनि उहाँ खेती किसानीमै रमाएको भेटाउन सकिन्छ । विहान र बेलुका खेतबारीमा भेटिने कामी दिउँसो जाने भेला बैठक भने कृषिसँग सम्बन्धित होइनन् । उहाँ कृषि विज्ञ वा पढेको पनि हुनुहुन्न । उहाँको दुईटा परिचय छ । एउटा अगुवा किसान र अर्को नेता । पछिल्लो पटक व्यवसायिक कृषि पेशामा आवद्ध कामी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीको काम, भेला, बैठक, अरु सर्वदलिय बैठकका लागि उहाँले समय तालिका बनाउनुभएको छ । 

तीन वर्षदेखि राजनीतिसित कृषि पेशामा पनि उहाँ जोडिनु भएको छ । त्यस अघि रुकुम पश्चिममा रहेर राजनीति गरिरहेका कामी रुकुम पूर्व आएपछि राजनीतिलाई कृषिसँगसँगै अघि बढाउनुभएको छ । ‘धेरैले राजनीतिलाई पेशा बनाएर खाइरहेका छन्, म कृषिलाई पेशाा र राजनीतिलाई सेवा बनाएर काम गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय यसबाट उत्प्रेरणा र हौसला दुवै मिलेको छ ।’

२०७६ सालदेखि उहाँ निरन्तर कृषि पेशामा हुनुहुन्छ । राजनीतिसित अरु काम गर्न नसकिने भन्ने पनि होइन सकिने रहेछ तर त्यसका लागि समयको व्यवस्थापन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । विशेष गरी खेतपाती र गोडमेलका बेला बढी ध्यान लाउनुपर्ने सिकाई भएको कामीको अनुभव छ । शुन्य लगानीमा कृषि पेशा थाल्नुभएको थियो उहाँले । सिस्ने गाउँपालिका–६, मा जग्गाहरु बाँझा थिए ।

अरुकै जग्गा भएपनि बाँझा जग्गा खनेर खेतीपाती गर्ने भएर जग्गाका मालिकसित निःशुल्क जग्गा लिएर उहाँले काम थाल्नुभएको थियो । ‘त्यो पहिलो वर्ष थियो, जग्गा बाँझै थिए, त्यसको उपयोगका लागि मैले खनें र खेती सुरु गरें,’ उहाँले भन्नुभयो, ‘जग्गा खने वापत मैले जग्गावालालाई केही दिनु परेन ।’ अब भने जग्गाको भाडा तिर्नुपर्ने भएको छ । पहिलाको जग्गा भन्दा थप जग्गामा खेतीपाती सुरु भएको छ ।

वार्षिक ४५ हजार रुपैयाँ तिर्ने गरी १० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेतीमा कामी रमाइरहनु भएको छ । सुरुमा श्रम बाहेक अरु लगानी नगरेका कामीले हाल विभिन्न खालका उपकरण समेत जोडेर १० लाखको सामग्री जोड्नुभएको छ । महिनामा २५ देखि ३० हजार रुपैयाँ आम्दानी भइरहेको छ ।

परिवारका ५ सहित कहिलेकाँही अरुले पनि रोजगारीको अवसर समेत पाइरहेका छन् । अर्गानिक उत्पादन भएका कारणले बजारको तत्कालको आवश्यक्ता पुर्ति भएको उहाँको भनाई छ । मैले उत्पादन गर्ने जति विक्री भइरहेको छ, धेरै उत्पादन हु“दा बजारको समस्या भएपनि हालसम्म भने त्यस्तो नभएको उहाँले बताउनुभयो ।

लामो समयदेखि राजनीतिमा सक्रिय कामीले नयाँ प्रयोगका लागि पनि खेती गरेको बताउनुहुन्छ । राजनीतिकर्मीले खेती गर्नुहुन्न भन्ने मान्यता पनि रहेको पाइन्छ, राजनीति भन्दा अरु गर्न सक्दैनन भन्ने आरोप पनि छ यो सबैलाई चुनौती दिएर थालेको व्यवसाय फस्टाउँदो क्रममा रहेकाले खुसी र सन्तुष्ट रहेको उहाँले सुनाउनुभयो । अगुवा कृषकको रुपमा पनि परिचय थपिएको मा उहाँ खुसी हुनुहुन्छ । 


 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update