रुकुम पूर्व पूर्ण खाेप सुनिश्चित घाेषणा भएकाे छ । जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
सिस्ने गाउँपालिकाको प्राङगनमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई देशकाे ६२ औं जिल्लाकाे रूपमा पूर्ण खोप सुनिश्चित घाेषणा गर्नुभएको हाे । सभामुख घर्तीले प्रतिबद्धता पत्र वाचन तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी आजदेखी जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको थियाे ।
जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार ३ सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९ सय ३४ जना बालबालिकाले पूर्ण रुपमा खोप पाएकाे स्वास्थ्य कार्यालय रुकुम पूर्वले बताएको छ । यसअघि जिल्लाका ३ वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् । तीन वटै पालिका पछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
रुकुम पूर्व जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएसँगै लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भएका छन् । यसअघी ११ वटा जिल्लाका सबै बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । याे संगै नेपालका ६२ जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएका छन् ।