Kakhara सबैको खबर सम्पूर्ण खबर
‘सजिलै सूचना पाईदैन्’

रुकुम पश्चिमका पत्रकारहरुले सहज रुपमा सूचना प्रवाह हुनुपर्नेमा जोड दिएका छन् । सबै सार्वजनिक निकायबाट सहजै नागरिकहरुले सूचना पाउनुपर्नेमा जिल्लास्थित पत्रकारहरुले जोड दिएका हुन् । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारविचको समन्वयात्मक बैठकमा सहभागि पत्रकारहरुले सूचनालाई लुकाएर राख्न नहुने बताएका छन् । 

‘धेरै कार्यालयले आँफै त सूचना प्रवाह गर्दैनन् नै, सूचना माग्दा पनि वास्ता गर्दैनन्, बैठकमा सहभागि पत्रकारहरुले भने–सूचना दिने कुरालाई बाध्यताको रुपमा लिन हुँदैन् । जति सजिलै सूचना प्रवाह भयो त्यतिनै नागरिक सुसुचित हुन्छन् र कार्यालयको पारदर्शिता झल्किन्छ ।’ नागरिकहरुका लागि कुनै सूचना माग्दा पत्रकारलाई नै सूचना पाउन सजिलो नहुनु दुःखद भएको पत्रकारहरुको भनाई छ । सूचना अधिकारी नै आफ्नो कार्यालयको सबै सूचनामा जानकार हुन नसकेको पत्रकारहरुले बताए । नाममा मात्र नभई काममा पनि सूचना अधिकारी बन्न पत्रकारहरुको सुझाव थियो । 

बैठकमा सहभागि विभिन्न सरकारी कार्यालयमा कार्यरत सूचना अधिकारीहरुले सूचना प्रवाहमा कुनै कन्जुस्याई नगरेको तर नपुगेको होकि भन्ने आफुलाई पनि लागेको बताएका थिए । सूचना लुकाउने वा नदिने मनशाय नभएपनि भनेको बेला दिन नसक्दा बाहिर दिन नचाहेको होकी जस्तो पर्न गएको उनिहरुको भनाई थियो । कतिपय अवस्थामा भने आफुहरुले चाहेर मात्र सूचना दिने अवस्था नरहेको उनिहरुको दुखेसो थियो ।

कुनै कुनै अवस्थामा कार्यालय प्रमुखका कारण पनि सूचनाको सहज प्रवाह हुन नसकेको उनिहरुको स्विकारोक्ति थियो । बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जतिसक्दो सूचना दिने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।नियमले दिनु भनेका सबै सूचना कसैले नमागे पनि कार्यालयले आफै सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । जति सूचनामुखि भयो त्यतिनै धेरै कार्यालयप्रति नागरिकहरुको विश्वास बढ्ने र सूचनाको सहज प्रवाहले कार्यालयको सेवा प्रवाहमा समेत सहजता ल्याउने उहाँको भनाई थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update