रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, खदीका ६२ वर्षीय लछे कामीमाथी खुकुरी प्रहार भएको छ । बुधबार बेलुकी ७ बजेको समयमा स्थानीय युवाहरुले लछे कामीमाथी खुकुरी प्रहार गरेका हुन् । २३ वर्षका नेत्र बोहोरा, २२ वर्षका विरे भण्डारी र २२ वर्षका शान्ते भण्डारीले खुकुरी प्रहार गरी लछेलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट उहाँ गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । बुधबार नै भएको अर्को घटना र पूरानै रिसिविका कारण उहाँमाथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । बुधबार बेलुकी ४ बजेतिर केही युवाहरुको खुकुरी प्रहारबाट अर्का युवा कर्णबहादुर बोहोरा घाइते हुनुभएको थियो ।
१८ वर्षीय महेन्द्र विक, २४ वर्षीय गोपाल विक, २१ वर्षीय विष्णु कामी र २३ वर्षीय कृष्ण विकले पूरानै रिसिका कारण खुकरी प्रहार गरेर बोहरालाई घाइते बनाएका थिए । त्यसकै रिसिविले बोहरा तर्फका युवाहरुले गोपाल विकका बुवा लछेमाथी खुकुरी प्रहार गरेको जनाइएको छ ।
कर्णबहादुर र लक्ष दुवै जनालाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । विहान आएको नेपाली सेनाको हेलिकोप्टरले दुवै जनालाई उपचारका लागि नेपालगञ्ज स्थित काेहलपुरमा राखिएकाे छ । दुवै जनालाई खुकुरी प्रहार गर्ने दुवै तर्फका युवाहरु भने फरार रहेका छन् । उनिहरुको खोजि भइरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।