- प्रेमबहादुर खत्री (झलक माहिला)
म आमा सङ्ग सपक्क टासिएर दुध चुसिरहेको हुन्छु । ठुली भङ्गमा डोकोले तोरेको कौरे भाले बाहिरको मिरमिरेको प्रकाश सङ्गै कुखुरी काँ... गरेर बास्यो । आमाले बिस्तारै आफ्नो दुधबाट मेरो मुखलाइ छुटाउनु भयो र मलाई पुरै सिरक ओढाएर जुरुक्क उठनु भयो । आमाले उठेर लुङी लगाएर कम्मरमा सपक्क धरो गुथ्नु भयो, चोली लगाउनु भयो र टाउकोमा तौलिया बाध्नु भयो । अनि आमाले बैकाल बाट चोयाको सानो डोको तान्नु भयो अनि उक्त डोकोमा तामाको गाग्री हालेर पानी लिनलाइ अलि परको पधेँरो तर्फ लाग्नु भयो ।
पधेँरोमा पानी भर्ने दिदी बहिनी, आमाहरुको भिड हुन्थ्यो । अलि पर्खिएर पालो कुर्नु पथ्र्यो । पधेँरोमा जेहोस बिहानीको समयमा रमाइलो हुन्थ्यो । पानी भर्न पधेँरोमा आएका सङ्ग सबको भेटघाट हुने अवसर पनि हुन्थ्यो । सबले पानी भर्ने मौकामै सुख दुःखका कुरा साटासाट गर्थे । गन्थनमन्थनको कुराकानी पछि सबैको पालो आउथ्यो र पानी भरेर सबै आमा, दिदिबहिनी आ–आफ्नो घर तर्फ लाग्थे । पानी भर्ने उक्त धारा पधँेराको आफ्नै महत्व थियो । धारा पधेँरामा पानी भर्ने मात्रै नभएर नुहाउन र कपडा धुन अति उत्तम र उचित हुन्छ । धारा पधेँराको छेवैमा बस्नलाई रमाइ लाग्दो चौतारी बिसौनी पनि थियो । बाटो हिन्ने बटुवाहरुले पानी पिएर चौतारीमा थकाइ मार्थे । धाराको पानी र चौतारीको बसाइ मन्द मन्द हावा सहितको सितलताले कतिखेर त मनका सबै पीडा र पिरहरु भुसुक्कै बिर्साइ दिन्थ्यो । गाउँका बैठक गर्दा होस, कसैको पञ्च कचहरी बस्दा होस त्यही धारा पधेँराको चौतारीमा बसेर गरिन्थ्यो । खेल खेल्दा, मनोरञ्जन गर्दा त्यही ठाउँ बढी प्रभावकारी मानिन्थ्यो । एउटा टोलको बिचैमा रहेको धारा पधेँराको आफ्नो फरक खालको पहिचान थियो । उक्त धारा पधेँराहरु गाउँलाइ चिनाउने माध्यम पनि बनेका थिए ।
पछिल्लो चरणमा सबै कुरा वस्तुको परिवर्तन भैरहेको छ । गाउँ गाउँमा मोटर बाटो बने । घर घरमा पानीका नल्का पुग्न थाले । ती पुराना धारा पधेँराको महत्व घट्न थाल्यो । भएका पुराना धाराहरु पनि मोटर बाटो आउँदा मासिए । अचेल ती धारा पधेँराको कतै कतै निशानी र थोरै भौतिक अवशेष मात्रै देख्न पाइन्छ । पहिला गाउँ गाउँमा धारा पधेँरा हुन्थे त्यही गएर हाम्रा आमा बज्यैहरुले पानी भरेर ल्याउनु हुन्थ्यो भन्ने कुरा सपनामा जस्तो अचम्म लाग्छ । घरमै पुगेको पानी भरेर पिउन त सजिलो छ तर पनि नुहाउन कपडा धुन असाध्यै कठिन र अप्ठ्यारो छ । बाटोमा हिड्ने मानिसहरूलाई अरुको घरमा गएर पानी मागेर खाने अवस्था छ । धारामा जाने पानी भर्ने, सबैको भेटघाट हुने स्थिति छैन । धारा पधेँराको प्रचलन हटे सङ्गै तामाका गाग्री र चोयाको डोकाको पनि महत्व कम हुदै गएको छ । पानीको गाग्री कम्मरमा बोक्ने, पिठ्युँमा बोक्ने त्यो पुरानो चलनको सजिलो जुक्ती पनि हराएको ।
कमसेकम विकास गर्दा ती पुराना महत्वका ऐतिहासिक वस्तुहरुलाई जोगाईदिएको भए पछिल्लो सन्ततिले प्रत्यक्ष देख्न पाउँथेकी । पुराना प्रचलन बारे छर्लङ्ग हुन्थेकी । हाम्रो आमा बज्यै र धारा पधेँराको सम्बन्ध बारे थाहा पाउँथेकी । ती पौराणिक धारा पधँेराको नाश भएको छ । हामीलाइ जान्न र बुझ्न् मन लागेको छ । ती धारा पधेँराको बास्तविकता । पहिला प्रचुर मात्रामा प्रयोगमा आउने धारा पधेँराहरुको अहिले खोज गर्दा तिनिहरुको बारे अनुभव गर्न नि कठिन भएको अवस्था छ । भनाइ यति मात्रै होकी पुराना संरचना बचाएर राख्ने हो भने तिनीहरु सबै चिनारी हुने थिए । र पछिल्लो पुस्ताले प्रत्यक्ष देख्न पाउने अवसर प्राप्त हुने थियोे ।
लेखक सिस्ने गाउँपालिका ३ रुकुम पूर्वका हुनुहुन्छ ।