
जिल्ला सदरमुकामबाट पातुखोला हुँदै जिल्लाका विभिन्न ठाउँ जाने मुख्य सडकमा सवारी साधन जोखिम मोलेर सञ्चालन हुँदै आएका छन् । जिल्लाको ग्रामिन सडक मध्यको सबै भन्दा बढि सवारी साधन चल्ने सडक पातुखोला देखि बाँफिकोट गाउँपालिकाको फलामेगौंडा सम्म निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
असोजको मध्यसम्म पनि आकाशबाट पानी पर्न छोडेको छैन । उक्त सडक खण्डको रातामामाटा, राउखेत, गिलबाङ, र गिलबाङ देखि फलामेगौंडाको पुल सम्म बाटो जिर्ण बनेको छ । सडकमा कतै ठुला खाल्डा परेका छन भने कतै हिलो अनी सडकमा खोला बग्दा बाटो जिर्ण बनेको हो । उक्त सडक मार्फत जिल्लाको आठविसकोट, बाँफिकोट, झुला, मग्मा, दुली, छिनखेत, पीपल र रुकुम पूर्वको सिस्नेरी, पोखरा लगायत ठाउँमा सवारी साधन जाने गर्छन् ।
दैनिक २ सय भन्दा बढि सवारी साधन चल्ने उक्त सडक खण्डमा यात्रु बोक्ने मात्रै दैनिक २४ वटा सवारी साधन चल्ने गर्छन् । भदौ सम्म ठिकै रहेको बाटो भदौ पछिको ठुलो वर्षाका कारण जिर्ण बनेको हो । ‘भगवान भरोसामा हिड्न पर्छ’ सवारी चालक सरद केसीले भन्नुभयो ।’ ‘कति खेर के हुने हो ? थाहा छैन । ‘गाडि चलाउनै पर्यो । यस्तो बाटो छ । पुरानो गाडि । यात्रुको चाप धेरै छ । तर गाडि कसरी गन्तव्य सम्म पुर्याउने भन्ने मात्र मनमा कुरा खेल्छ ।’ अर्का सवारी चालक तिलक पौडेलले भन्नुभयो ।
यात्रुहरु पनि गाडि चढ् निकै डराउछन् । सवारी साधनले खाल्डोमा भुई छुन्छ । हिलो भेटिए गाडि चिप्लन्छ । जिल्लाको मुख्य सडक नै जिर्ण बनेपछि यात्रुहरुले मर्मतको लागि स्थानीय तहले पहल गर्नु पर्ने बताउछन् । ‘बाटोमा ठुला खाल्डा छन् । गाडि पल्टिन्छ कि भन्ने डर लाग्छ ।
कामले यात्रा गर्नै पर्यो ।’ गोपाल बस्नेतले भन्नुभयो । ‘भगवान भरोसामा यात्रा गर्नु पर्छ ।’ हिलो र खाल्डाको कारण मोटरसाइकल चालाउन पनि समस्या हुने गरेको छ । चार पाङ्ग्रे गाडि भन्दा मोटरसाइकललाई झन समस्या हुने गरेको महेश नाथले बताउनुभयो । ‘सडकमा हिलो मात्रै छ । मोटरसाइकल फस्यो भने निकाल्नै गाह्रो हुन्छ ।’ नाथले भन्नुभयो । मुसीकोट नगरपालिकाले उक्त सडक खण्ड मर्मतको काम सुरु गरेको छ ।
पातुखोला देखि राउखेत सम्मको सडक मर्मत गर्ने मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । जिर्ण भएको सडक मर्मतको काम सुरु भएको र केहि दिनमै सबै सडकहरु मर्मत गरी सक्ने उहाँको भनाई छ । लगातारको वर्षाको कारण सडक मर्मतमा समस्या भएको छ । दिउसो सडक मर्मत गरे पनि राती पर्ने पानीका कारण सबै माटो बगाएर लादा सडकमा खाल्डा पर्नुका साथै सडक चिरा पर्ने गरेको छ ।