Kakhara सबैको खबर सम्पूर्ण खबर
बागबजारमा यात्रु सहायता कक्ष 

चाडपर्वमा हुने यात्रुहरुको चापलाई लक्षित गर्दै रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको बागबजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरुलाई यात्रा सम्बन्धि सहजिकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो ।

यो कक्षबाट यात्रुहरुलाई यात्रा सम्बन्धि जानकारी गराउनुका साथै भाडामा यात्रुहरु ठगिन सक्ने, यात्रुको सामान चोरी हुन सक्ने जोखिमलाई कम गर्न काम हुने उहाँको भनाई छ । त्यस्तै गाडि छुट्ने समय लगायतका बारेमा पनि यात्रु सहायता कक्षबाट यात्रुहरुले सेवा पाउने प्रहरीले जनाएको छ । यो कक्षमा प्रहरी र ट्राफिक प्रहरी रहने छन् । चाडपर्व अवधि भरमा कक्ष संचालनमा रहने छ । जिल्लाका अन्य ठाउँमा पनि यात्रु सहायता कक्ष स्थापना हुने प्रहरीको भनाई छ ।

छिट्टै जिल्ला भित्रिने नाका त्रिवेणि गाउँपालिकाको झुल्नेटा बजारमा पनि यात्रु सहायता कक्ष स्थापना हुने बताईएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार बागबजारमा कक्ष स्थापना गरिएको हो भने अन्य ठाउँका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update