Kakhara सबैको खबर सम्पूर्ण खबर
बजार अनुगमनः अब बुझ्नुहोस् दशैं तिहार आयो

रुकुम पश्चिममा चाड पर्व लक्षित वजार अनुगमन सुरु भएको छ । बुधबार देखि जिल्ला सदरमुकाम खंलगाबाट वजार अनुगमन सुरु गरिएको हो । बुधबार र बिहिबार मुसीकोट नगरपालिकाको विभिन्न बजारमा अनुगमन गरिएको छ । बुधबार खंलगाको तल्लोवजार, माथिल्लो वजार, पातुखोला लगायत ठाउँमा रहेका साना तथा ठुला किराना पसलमा अनुगमन गरिएको थियो । त्यस्तै बिहिबार सल्ले, बागवजार त्रिबेणि चोक र कालिकास्थान वरपरका पसल तथा घुम्तीहरुमा अनुगमन गरिएको थियो । यो भन्दा पहिला ठुला पसल तथा डिलरमा मात्र अनुगमन गर्ने गरिएकोमा यो पटक भने साना घुम्ती पसलहरुमा पनि अनुगमन गरिएको छ । 

बजारमा रहेका साना घुम्ती तथा पसलहरुमा बनाईने चट्पटेमा विभिन्न अखाद्य बस्तु मिसाउने गरेको भन्ने गुनासो आए पछि यो पटक ति घुम्तीहरुमा पनि अनुगमन गरिएको हो । अनुगमनका क्रममा चट्पटेमा प्रयोग हुने अखाद्य बस्तु जफत गरिएको छ । चट्पट्मा अमिलोको रुपमा विभिन्न किसिमका नाम नखुलेको अखाद्य बस्तु प्रयोग गरेको पाईएको अनुगमन टाेलीले जनाएकाे छ । चट्पटेमा प्रयोग गरिने नुन जस्तो धुलो चुक, कालो लेदो जस्तो देखिने चुक र अन्य विभिन्न अखाद्य बस्तु जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभयो । उहाँका अनुसार मानिसको स्वास्थ्यमा असर गर्ने खालको अखाद्य बस्तुहरु प्रयोग भएको पाईएको छ । 

अनुगमनको क्रममा खंलगा बजारमा पहिलेको भन्दा केहि सुधार भएको देखिए पनि सल्ले र बागबजारमा भने म्याद गुज्रिएका सामान फेला परेको बताइएकाे छ । बिभिन्न पेय पर्दाथ, चाउचाउ, कुरमुरे जस्ता खाद्य बस्तुकाे म्याद गुज्रिएको पाईएको हो । जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिका र उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् । जिल्लाका अन्य मुख्यवजारमा पनि अनुगमन गरिने अनुगमन समितिले जानकारी दिएको छ । जिल्लामा याे पटक पनि चाडपर्व लक्षित अनुगमनलाइ मात्र प्राथमिकता दिइएकाे छ । नियमित अनुगमन हुन सकेकाे छैन् । अनुगमन हुन थाल्याे भने दशैं तिहार लगायतका चाड नजिकिएकाे बुझ्नुपर्ने अवस्था छ ।   

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update