पछिल्लो समय भक्ताजन बाक्लिदै गएको रुकुम पश्चिमको बुढुमष्ट मन्दिर यो समयमा भने बन्द छ । बाँफिकोट गाउँपालिका ५, काँडामा अवस्थित यो मन्दिर यो वर्ष मात्रै यसरी बन्द भएको होइन । हरेक वर्षमा ३ पटक गरी ४६ दिन यो मन्दिर बन्द हुन्छ । हरेक वर्षको साउन १ देखि १५ गते सम्म, हरेक वर्षको सोह्र श्राद्धका १६ दिन र हरेक पुष १ देखि १५ सम्म उक्त मन्दिर बन्द हुने गर्दछ ।
धार्मिक मान्यता अनुसार साउन १ देखि १५ र पुष १ देखि १५ मा खासै तिथि नगरिने, नयाँ काम नगरिने हुनाले यो बेला मन्दिर बन्द हुने गर्दछ । सोह्र श्राद्धमा प्रिति कार्य हुने र देव कार्य नहुनु हुनाले मन्दिर बन्द हुने गर्दछ । साउन १ देखि १५ र पुष १ देखि १५ का समयमा पूर्णिमा परेपछि भने भक्तजन मात्रै आएर पूजाआज गरेर फर्कन सक्छन् ।
यस मन्दिरमा पूजाआजा गर्दा जन,धन र शिक्षा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । यही विश्वासका आधारमा यो मन्दिरमा हरेक वैशाख, साउन, कार्तिक र माघ पूर्णिमाको दिन विशेष पूजाआजा हुन्छ । बोका, परेवा, तिल लगायतका मिल्ने फलफूल चढाइन्छ । नाम र जन्म दिन नसोधिकनै भविश्य हेर्ने यो मन्दिरको विशेषता भएको मन्दिरका प्रमुख संरक्षण धुव्रराज केसीले बताउनुभयो । पछिल्लो समय मन्दिर व्यवस्थापन गरिएको र प्रचार प्रसार बढेकाले पनि झक्तजनहरु बाक्लिन थालेको केसीको भनाई छ ।
उक्त मन्दिरमा रुकुम पश्चिमका साथै रुकुम पूर्व, जाजरकोट, सल्यान, दाङ, नेपालगञ्ज समेतबाट भक्तजनहरु आउने गर्दछन् । मन्दिरको अर्को विशेषता भनेको धार्मिक यात्रा पनि हो । माघ महिनाको पूर्णिमाको बेला रुकुम पूर्वको पोखरा स्थित तातोपानी क्षेत्र वा झार्ले गोठको हिउँ यात्रा हुन्छ । हरेक धार्मिक यात्रा पैदलै हुन्छ । हरेक वैशाख पूर्णिमाको समयमा जुम्लाको बुरु वा रुकुम पूर्वको सिस्ने गाउँपालिका १, को बायुगाडसम्मको धार्मिक यात्रा हुन्छ ।
हरेक साउनको पूर्णिमामा गारकटेरा, स्यार्पूतालको मुहान दोपाइ क्षेत्र र कार्तिक पूर्णिमाको दिन आठबीसकोट नगरपालिका खदीको हुन्नाखोला र डोल्पाको मुकुटधारी सम्मको धार्मिक यात्रा हुन्छ । २ दिनदेखि १५ दिन सम्म हुने यि धार्मिक यात्राका क्रममा नुन खान मिल्दैन । अरु कसैको घरमा बस्न पनि मिल्दैन । रुख वा ओडारमा बास बस्नुपर्ने धार्मिक मान्यता छ । धार्मिक यात्रा गरेपछि देवताको थप शक्ति प्राप्त हुने विश्वास रहेको मुख्य संरक्षक केसीले बताउनुयभो ।