कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री गोपाल शर्माले सर्वसाधारण तथा सरोकारवालासँग अन्तरक्रिया गर्नुभएको छ । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको २ नम्बर वडा सिम्रुतुमा मन्त्री शर्माले विकास निर्माण लगायतका विविध विषयमा सर्वसाधारणसँग अन्तरक्रिया गर्नुभएको थियो ।
सर्वसाधारण, विभिन्न निर्माणका उपभोक्ता समिति, विभिन्न संघ, संस्था तथा जनप्रनिधिसँग मन्त्री शर्माले अन्तरक्रिया गर्नुभएको हो । हाल भइरहेको विकास, अब गर्नुपर्ने विकास, बजेट वितरण तथा अरु सम्पूर्ण विषयमा उपस्थित भएकाले जानकारी गराएका थिए भने मन्त्री शर्मालाई समस्या पनि राखेका छन् ।
अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले बजेट अपुग भएको, विनियोजन बजेट पनि गाउँसम्म नपुग्ने, पुगे पनि आर्थिक वर्ष सकिने समयामा पुग्ने भएकाले कामकाज गर्न असजिलो भएको गुनासो मन्त्री शर्मा समक्ष राखेका छन् । विभिन्न कार्यविधि, नीतिका कारण पनि कामकाज छिटो गर्न नसकिने त्यसमा सहजिकरणको खाँचो रहेको समस्या पनि औल्याएका थिए ।
सरोकारवालाको कुरा सुनेपछि मन्त्री शर्माले पहिलो जस्तो अब नहुने बताउनुभयो । सबै प्रक्रिया समयमै सुरु भएको र यसमा आफू गम्भिर रहेको मन्त्री शर्माले बताउनुभयो । विकासका लागि कुनै पनि बाहानामा बजेट रोक्ने, रोकिने वा ढिला ढाला गर्ने प्रचलनलाई निरन्तरता हुन नदिने शर्माको प्रतिबद्धता छ ।
कहाँ के समस्या छ र त्यसको हल कसरी गर्न सकिन्छ भनेर आफू निरन्तर लागिरहेको भन्दै शर्माले हर क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि गर्नुभएको छ । आवश्यक्ता र मागका आधारमा विकास निर्माणको प्राथमिकिकरण गरिएको भन्दै उहाँले अब नभएको ठाउँमा विकास हुने र जहाँ बढी आवश्यक्ता छ त्यहाँ पहिलो प्राथमिकताकास बजेट र कार्यक्रम आउने पनि उहाँले बताउनुभएको छ ।