रुकुम पश्चिममा पछिल्लो दुई साता देखि स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा अहिले दैनिक ३, ४ जना स्क्रब टाइफसका बिरामी आईरहेको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर केहल बिक्रम जिसीले पछिल्लो दुई साता देखि जिल्लामा स्क्रब टाइफसका बिरामीहरु बढेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म २४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमतिको संख्या दैनिक थप भइरहेको छ ।
एक महिना अगाडि जिल्लाको आठबीसकोट नगरपालिकाको स्यालाखदीमा केही व्यक्तिमा स्क्रब टाईफस देखिएकामा अहिले बाँफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा यो रोग बढ्दै गएको डाक्टर जिसीले बताउनुभयो । अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, शरिरमा डाबर आउने लगायतका स्वास्थ्य समस्या भएका बिरामी धेरै आउन थालेपछि परीक्षण गर्दा स्क्रब टाईफसको संक्रमण पुष्टि भएको डाक्टर जिसीको भनाई छ ।
डाक्टर जिसीका अनुसार कुकुर, बिरालो जस्ता जनावरमा भएका किराले मान्छेलाई टोक्दा यो रोग लाग्ने गरेको छ । यो रोगबाट बच्नका लागि जनावरको सम्पर्कबाट जोगिन उहाँको सुझाव छ । यो रोग मान्छेबाट मान्छेमा भने नसर्ने उहाँले बताउनुभयो । संक्रमण बढ्दै गएको भएपनि अवस्था नियन्त्रणमै जिल्ला अस्पतालले जनाएको छ । औषधी चढाएपछि बिरामीहरु निको हुँदै घर फर्किने क्रम पनि बढ्दो रहेको अस्पतालको भनाई छ ।
यसअघि फाट्टफुट्ट स्क्रब टाइफसका बिरामीहरु देखिने गरेमा यति धेरै मात्रामा भने पहिलो पटक संक्रमण फैलिएको बताईएको छ ।