Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रशासनको अपिलः चाडपर्वमा उच्च सतकर्ता अपनाऔं 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले चाडपर्वमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै प्रशासनले अनावश्यक भिडभाड नगर्न, सकभर जो जहाँ छौं त्यही चाडपर्व मनाउन, मेला महोत्सव नगर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न भनेको छ । आज प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक आदेश जारी गर्दै संमयमित भएर दशैं, तिहार लगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । सामान्य अवस्थामा जस्तो ढुक्कले चाडपर्व मनाउने अवस्था नरहेको भन्दै प्रशासनले सुरक्षित रहन आग्रह गरेको हो । 

प्रशासनले जारी गरेको आदेशमा औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, लुकाउने, मूल्य वृद्धि गर्ने, म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री विक्रि वितरण गर्ने, अवैध चोरी निकासी गर्ने, आपूर्तिमा अवरोध पुयाउने जस्ता कार्य नगर्न भनिएको छ । पटका आतसवाजी लगायतका बिष्फोटक पदार्थहरूको आयात प्रयोग र संचय नगर्न, बेलुकी ८ बजे पश्चात मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखन तथा सेवन गर्न नपाईने र जुवा तास खेलेको वा खेलेको पाईएमा कारवाही हुने आदेशमा उल्लेख छ ।  

विदाको समयमा निजी प्रयोजनका लागि सरकारी सवारी साधनको दुरुपयोग नगर्न भन्दै प्रशासनले सम्पूर्ण कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालय, क्याम्पसहरुलाई आफ्नो कार्यालयको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र विदाको समयमा पालो पहराको व्यवस्था मिलाई नजिकको प्रहरी कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ । सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन आग्रह गर्दै यात्रुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश मार्फत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update