Kakhara सबैको खबर सम्पूर्ण खबर
साफ च्याम्पियनसिपः नेपालले आज श्रृलंका संग खेल्दै

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत सोमबार हुने दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । मनिष डाँगीले बेन्चबाट पस्दै खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको दर्शनीय गोल नेपालको जितको लागि पर्याप्त बनेको थियो । त्यस्तै श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । दश खेलाडीमा सिमित श्रीलंकाले पेनाल्टीमा गोल खादै पराजित हुन पुगेको थियो ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा बंगबन्धु गोल्डकपमा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले श्रीलंकासँग १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update