Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला कारागारको हविगतः कैदीबन्दी जता फर्केर सुत्छन त्यतैबाट उठ्छन

रुकुम पश्चिम कारागारको क्षमता २५ जनाको हो । मापदण्ड अर्थात क्षमता अनुसार राख्ने हो भने जिल्ला कारागारमा २० जना पुरुष र ५ जना महिला मात्र अटाउँछन् । तर हाल भने कारागारमा क्षमता भन्दा साढे ५ गुणा बढी कैदीबन्दीहरु जसोतसो कोच्चिएर बस्न बाध्य छन् । अहिले कारागारमा १ सय ४७ जना कैदी बन्दी छन् । जसमा १ सय ३३ जना पुरुष, १२ जना महिला र २ नाबालक हुन् । कारागारमा २५ जना मात्र कैदी बन्दी राख्न मिल्ने व्यवस्था भएपनि क्षमता भन्दा निकै बढी कैदी बन्दी राख्नुपर्दा व्यवस्थापनमा मुश्किल भएको छ । भौतिक संरचनाको अभावमा हाल एउटै कोठामा २० देखी २५ जना खाँदिएर बस्नुपरेको छ भने विद्युत, खानेपानी जस्ता आधारभुत आवश्यकताको सहज आपुर्ती हुन नसकेको कैदी बन्दीहरुको गुनासो छ ।

कैदीबन्दी बढि रहेको र भौतिक संरचना कम भएका कारण थेग्नै नसक्ने अवस्था आएको जिल्ला कारागारकी जेलर गौमता पुनले बताउनुभयो । कैदीबन्दीहरुको सामान्य आवश्यकता पनि पुरा गर्न सकिने अवस्था नरहेको उहाँको भनाई छ । कारागारमा अहिले पुरुषका ब्लकमा ८ वटा र महिला ब्लकमा एउटा मात्र कोठा रहेको छ । ठाउँको अभावमा एउटै कोठामा धेरै जनाको संख्यामा कोचिएर सुत्ने गरेका कैदीबन्दी साँझ जता फर्किएर सुत्यो फर्किन नपाउँदा बिहान त्यतैबाट उठ्ने गरेको उहाँको भनाई छ । आफुहरुलाई पशु सरह हुलेर राखिएको जिल्ला कारागारका कैदीबन्दीहरुको गुनासो छ ।

हाम्रो मानव अधिकार उल्लंघन भैरहेको छ,’ एक कैदीले भने, ‘जान, अन्जानमा भएको अपराधका कारण कैद भुक्तान गरिरहेका हामिहरु कारागारमा सुध्रिने भन्दा पनि मानसिक तनावमा जाने खतरा रहेको छ ।’ आफुहरुले पटक पटक कारागार प्रशासन सहित जिल्ला प्रशासन र त्यो भन्दा माथिल्ला निकायहरुमा समेत समस्या बारे अवगत गराउँदा पनि कतैबाट सुनुवाई नभएको गुनासो छ ।

रुकुम पूर्वका कैदी बन्दी पनि पश्चिममै
रुकुम पूर्वमा कारागार नहुँदा त्यहाँका कैदी बन्दीहरुलाई पनि रुकुम पश्चिमकै कारागारमा राख्ने गरिएको छ । जसका कारण पनि कारागारमा कैदी बन्दीको संख्या थामि नसक्नुको छ । बिभिन्न कसुर र अभियोगमा कारागार चलान हुनेको संख्या दिन दिनै बढिरहे पनि ३१ बर्षअघि स्थापना गरिएको कारागारको क्षमता बढाउन कसैको ध्यान गएको छैन् । दुई जिल्लाका कैदी बन्दीलाई एउटै त्यो पनि वर्षौ पहिला निर्माण गरिएको संरचनामा राख्नुपर्दा समस्या रहेको जेलर पुनको भनाई छ ।

समस्याबारे लेखि पठाएका छौंः प्रजिअ
कारागारको स्तरोन्नतिका लागि बजेट र कार्ययोजना नभएका कारण समस्या भएको प्रमुख जिल्ला अधिकारी बन्द्रीनाथ गैह्रेले बताउनुभयो । कारागारको समस्या बारे कारागार व्यवस्थापन विभाग देखि र प्रदेश आन्तरिक मामिला मन्त्रालयमा लेखि पठाएको तर हालसम्म कतैबाट सुनुवाई नभएको उहाँको भनाई छ ।

यो वर्ष बजेट नआएपनि अर्को वर्ष बजेट आउँने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । ‘कारागारको अनुगमण गरेर अहिले भएकै ठाउँमा थप संरचना निर्माणका लागि समस्या दर्साएर संघ र प्रदेशमा लेखि पठाएका छौं,’ उहाँले भन्नुभयो, ‘यो वर्ष बजेट आउँने देखिएन अव अर्को वर्ष बजेट आउँने सम्भावना छ ।’ कारागारमा रहेका कैदी बन्दीहरुलाई बेला बेलामा विभिन्न जिल्लामा सरुवा गर्ने गरिएपनि संख्या घट्न भने सकेको छैन् ।

 

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update