रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४, मुसीकोट दरवार क्षेत्र पछिल्लो समय सुनसान छ । कोरोना महामारीका कारण केही समय बन्द भएको यो दरबार क्षेत्रमा त्यसपछि पनि खासै मान्छे गइरहेका छैनन् । पछिल्ला वर्षमा जिल्ला भित्रका तथा बाहिरका मान्छेको पनि घुमघामको पहिलो रोजाईमा पर्ने मुसीकोटडाँडा पछिल्लो पटक सुनसान छ ।
दरबार क्षेत्रमा बालबालिकाका लागि खेल्ने सेटहरु जोडिएको छ । अरु संरचना पनि व्यवस्थित बनाइएको छ । यस ठाउँमा भ्यू टावर बनाएपछि घुम्नेहरुको संख्या बढेको थियो । तर कोरोनाका कारण मान्छेहरु नियमित गइरहेका छैनन् । ‘आउँदै नआउने त होइनन् तर पहिला जस्तो आउँदैनन’ एक स्थानीयले भने, ‘यो खुलेको छैन कि भन्ने पनि हुन सक्छ ।’
कोरोनाको कारण सबै क्षेत्र खुल्दै जाँदा यो पनि खुलिसकेको छ । खुलेको केही समयसम्म घुम्न बन्देज गरिएको थियो । निर्माणका काम भइरहेको भन्दै केही समय शुल्किय घुमघाम बन्द गरिएको थियो । मुसीकोटडाँडा एक मात्र जिल्लाको शुल्क तिरेर घुम्ने ठाउँ हो ।