Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली कम्युनिष्ट आन्दोलन भ्रष्ट भयोः सुदर्शन 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनले नेपालको कम्युनिष्ट आन्दोलन भ्रष्ट भएको बताउनुभएको छ । झापा आन्दोलन हुदै १० वर्षे जनयुद्ध देखि हालसम्मको अवस्थालाई हेर्दा नेपालको कम्युनिष्ट आन्दोलन अति नै भ्रष्ट भएको उहाँले बताउनुभयो । पार्टीको भातृ संगठन युवा संगठन नेपाल रुकुम पश्चिमको चौंथो जिल्ला सम्मेलनलाई मुसीकोट खलंगामा सम्वोधन गर्दै नेता ओलीले कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गरेकाहरुले धोका दिएका कारण नेपालको कम्युनिष्ट आन्दोलन गम्भिर मोडमा आईपुगेको उहाँको भनाई छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई सही गतिमा ल्याउनका लागि आफुहरुले संघर्ष गरिरहेको समेत उहाँले बताउनुभयो । अहिले सच्चा कम्युनिष्ट आफुहरु मात्र रहेको दाबी उहाँको थियो । १० वर्षे जनयुद्धले मात्र राजतन्त्र हटेको र जनयुद्धकै जगमा गणतन्त्र आएको भएपनि साँच्चिकैको गणतन्त्र भने अझैपनि आईनसकेको उहाँले बताउनुभयो । राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका लागि संघर्ष गरेकाहरुले नै गम्भिर धोका दिएका कारण गणतन्त्र आउन नसकेको उहाँले बताउनुभयो ।

त्यस्तै नेता ओलीले स्थानीय तहमा लुटको खसोट चलिरहेको भन्दै त्यसका विरुद्धमा लड्न युवाहरुलाई आग्रह पनि गर्नुभयो । आफुलाई कम्युनिष्ट भन्नेहरु एकातिर जनप्रतिनिधि रहेको र अर्को तिर ठेकेदार भएको भन्दै उहाँले त्यसका विरुद्धमा लडाई लड्न युवाहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले विना कारण बन्दी बनार्ईएका पार्टीका नेता कार्यकर्ताको रिहाई माग समेत गर्नुभयो । १ सय २५ बढी नेता कार्यकर्ता हिरासतमा रहेको र पछिल्लो पटक सरकार र पार्टीका विचमा भएको तीन बुदे सहमति अनुसार रिहा गर्न सरकार समक्ष माग गर्नुभयो । सहमति कार्यान्वयन नभए कडा संघर्षमा उत्रने उहाँले चेतावनी पनि दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update