रुकुम पश्चिममा ताइवानी मेवाको व्यवसायिक खेती सुरु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६, स्थित डोटखोलामा ताइवानको रेडीलेडी मेवाको खेती सुरु भएको हो । विप्लव नेतृत्वको नेकपाका नेता हिरामणि रावलले २ सय ५० वटा ताइवानी मेवा लगाउनु भएको हो ।
चितवनबाट बीउ ल्याएर आफै बेर्ना उत्पादन गरेर रावलले यो मेवाको खेती सुरु गर्नुभएको हो । जिल्लामा पहिलो पटक यो मेवा लगाएको रावलले बताउनुभयो । यो मेवाको बीउ प्रतिकिलो दश लाख रुपैयाँ पर्छ । केही जना मिलेर एक लाख रुपैयाँमा एक सय ग्राम बीउ खरिद गरेर बेर्ना बनाई त्यसलाई जमिनमा लगाउनुभएको छ ।
छिटो फल दिने र आम्दानी हुने भएकाले यो मेवा खोजेर लगाइएको रावलले बताउनुभयो । पहिलो पटक भएकाले यसलाई परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो । यो मेवा तराई र ८ सय मिटर उचाई सम्म फल्ने गर्दछ । पहिलो पटक गरिएको खेती सफल भएमा यसको क्षेत्र विस्तार गर्ने योजनामा रावल हुनुहुन्छ ।
३ महिनामै यो मेवा फल्न थालेको छ । गत जेठ १५ देखि २६ गतेसम्म उहाँले मेवाको विरुवा जमिनमा सार्नुभएको थियो । ति सबै मेवा गत भदौदेखि फल्न थालेका हुन् । चैत्रदेखि यो मेवा पाक्ने र विक्रीका लागि योग्य हुने रावलले बताउनुभयो ।
मेवाले राम्रो उत्पादन दिएपछि जिल्ला भित्रै र जिल्ला बाहिर पनि विक्री गर्ने गरी बजार हेरिएको उहाँले बताउनुभयो । हाल यो मेवा भारतबाट आइरहेको छ । एकदमै स्वादिष्ट मानिने यो मेवा लामो समय राख्न सकिन्छ । विशेष गरी यो फलफूलकै रुपमा प्रयोग गरिन्छ भने जुसको रुपमा पनि यसलाई प्रयोग गर्ने गरिएको छ ।
यो मेवाको एउटा बोटले ५० किलोदेखि १ क्वुइन्टलसम्म फल दिन्छ । यो मेवा फल्न थालेको तीन वर्षसम्म व्यवसायिक रुपमा फल्छ र त्यसपछि यो फल्न क्रम कम हुँदै जाने बताइएको छ । यसका बेर्ना पोलिब्यागमा राखिएको थियो । रावलको बारीमा पोलिब्यागबाट जमिनमा सारिएको तीन महिनामा यो मेवा फल्न थालेको छ ।