रुकुम पश्चिमबाट सञ्चालित कखरा डट्कम अनलाइनले एक वर्ष पूरा गरेको छ । २०७७ कात्तिक १ गते घटस्थापनाको दिनदेखि यो अनलाइन सञ्चालनमा आएको थियो । अनलाइन सञ्चालक संस्था एमपिसी मिडिया प्रालीले घटस्थापनाको दिनलाई वार्षिकोत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
सोही निर्णय अनुसार यो वर्षको घटस्थापनाका दिन अनलाइन एक वर्ष पूरा भइ दोस्रो वर्षमा प्रवेश गरेको हो । यस अवसरमा सञ्चालक संस्था एमपिसी मिडिया प्रालीका अध्यक्ष धनबहादुर खड्काले प्रकाशकीय प्रकाशन गरेर सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिनुभएको छ । एक वर्षे यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी, विज्ञापनदाता, समाचारदाता, आम पाठक सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको हो ।
एक वर्षे यात्रा पार गरेपनि यो क्षेत्रमा चुनौती र सम्भावना दुवै रहेको औल्याउनु भएको छ । जनताको सूचनाको हक सुनिश्चित गर्नका लागि अनलाइनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ । पहिलो वर्ष जस्तै आगामी वर्षमा पनि सम्पूर्ण पाठक र सम्पूर्ण सहयोगीको निरन्तरको सहयोग अपेक्षा पनि गरिएको छ ।