रुकुम पश्चिमले नेपाल क्रिकेट संघ (क्यान)को मान्यता पाएको छ । क्यानको असोज २० र २१ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले रुकुम पश्चिम सहित कर्णाली प्रदेशका ४ जिल्लालाई मान्यता दिने निर्णय गरेको हो । रुकुम पश्चिमले ६ वर्षपछि क्यानको मान्यता पाएको छ । जिल्लामा पहिलो पटक २०७२ सालमा तदर्थ समिति गठन गर्दै क्रिकेट गतिविधि सुरु भएको थियो । तदर्थ समिति गठन भएको लामो समयपछि जिल्लाले क्यानको मान्यता पाएको हो । क्यानको विधान बमोजिम कर्णाली प्रदेशमा प्रदेश मातहत न्युनतम ४ जिल्ला हुनुपर्ने वैधानिक व्यवस्था रहेको छ । तर अहिलेसम्म सुर्खेत मात्र क्यानको मान्यता प्राप्त जिल्ला थियो । अव भने रुकुम पश्चिम, सल्यान, दैलेख र कालिकोट नयाँ सदस्य जिल्लाका रुपमा थप भएका छन् ।
जिल्लाले क्यानको मान्यता पाएपछि जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले खुशि व्यक्त गरेको छ । लामो प्रयासपछि जिल्लाले क्यानको मान्यता पाउनु खुशिको कुरा भएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका अध्यक्ष दिपक बाँठामगरले बताउनुभयो । अव जिल्लाको क्रिकेट विकासमा थप सहयोग पुग्ने विश्वास उहाँको छ । ‘वर्षौ सम्म तदर्थ समितिले काम गर्दा विभिन्न समस्याहरु थिए, अभावका विचमा पनि धेरै गर्ने प्रयास भएको थियो, उहाँले भन्नुभयो–आजबाट जिल्ला क्रिकेट संघ रुकुम पश्चिम बैधानिक भएको छ, यो जिल्लाका लागि खुशिको खवर हो, यसले जिल्लाको क्रिकेट विकासमा थप टेवा पुर्याउने छ ।’
क्रिकेट संघ रुकुम पश्चिमले स्थापनाकाल देखि नै सहयोग जुटाएर जिल्लाको क्रिकेट विकासका लागि काम गरिरहेको छ । विभिन्न प्रतियोगिता गर्नुका साथै प्रदेशका अन्य जिल्लामा आयोजना हुने प्रतियोगितामा निरन्तर सहभागि हुनुका साथै राम्रो नतिजा पनि निकाल्न सफल भएको संघको भनाई छ ।