प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरोधमा रुकुम पश्चिममा पनि विरोध भइरहेको छ । हिजो प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेका अनेरास्ववियू र राष्ट्रिय युवा संघले आज मुसीकोटमा विरोध प्रदर्शन गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक निर्णय फिर्ता गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, देशलाई अनिर्णयको बन्दी बनाउन पाईदैन भन्ने लगायतका नारा सहित चर्को नारावाजि गरेका थिए । जनताको मतलाई कुल्चदै संसद विघटन गर्ने निर्णय खारेजिको माग उनिहरुले गरेका थिए ।
खलंगा बजार परिक्रमा पछि कालिकास्थानमा कोणसभा भएको थियो । कोणसभालाई अनेरास्ववियूका केन्द्रीय सदस्य सुन्दर शर्मा, जिल्ला संयोजक शुशिल बिष्ट र राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शैलेश शर्माले संबोधन गर्नुभएको थियो । कोणसभाको संचालन विद्यार्थी संगठनका जिल्ला सह–संयोजक हुकुम बिसीले गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति भण्डारीले आगामी वैशाख १७ मा पहिलो र २७ गते दोस्रो चरणको प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति समेत तोक्नुभएको छ । प्रतिनिधि सभा विघटन गरिएपछि देशैभर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध भइरहेको छ ।