Kakhara सबैको खबर सम्पूर्ण खबर
बेँसी झर्दै भेडा 

गएको वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी बथान बेँसी झर्न सुरु गरेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा फिरन्ते जिवनशैलीका भेडी गोठालाहरु धमाधम बेँसीतिर झर्न थालेपछि मानिससँगसँगै बस्तुभाउको चहलपहल गाउँमा बढ्न थालेको छ । दशै तिहार नजिकिएसँगै पाटनबाट बेसी झर्ने क्रम सुरु भएको हो । गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्ने क्रम चलिरहेको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० का विकास बुढामगरले बताउनुभयो ।

बेँसी अर्थात गाउँघरमा घाँसपात र चरण क्षेत्रको अभाव भएपछि हरेक वर्ष पुथाउत्तरगंगा गाउँपलिकाका सबै कृषकहरु आफुले पालेका वस्तुभाउ सहित वैशाखमा बुकी पाटन उक्लने गरेका छन् । अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठालाहरु भेडा, बाख्रा र गाईको बथान सहित बेसी झर्न सुरु गरेको बुढाले बताउनुभयो । तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाख देखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाहरुले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् ।

सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनिहरुले खानपानका सबै कुराहरुपनि सके आफै र नसके भेडालाई बोकाएर लगेका हुन्छन् । बुकीमा दुइ/दुई महिनाको अवधिमा ठाउँ फेर्दै हिड्ने गरेको बुढाले बताउनुभयो । पुथाउत्तरगंगा गाउँपालिकाका कृषकहरुले माथिल्लो क्षेत्र भिरकोटी, चौरी, रेबाङ, नरसीङ, पुपाल, रानीखर्क, देउराली लगाएतका पाटनहरुमा भेडा, बाख्रा र गाईको वथानसँग ६ महिना बिताउने गरेको पुथाउत्तरगंगाका सुवा बुढामगर बताउनुहुन्छ । पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगंगाका अधिकांस कृषकहरुले भेडा र गाई पालेका छन् ।

कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगंगा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यवसायिक पशुपालन गर्न सकिदैन् । चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारेका तिनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, दाङ लगाएतका क्षेत्रमा झार्ने बुढाले बताउनुभयो । उहाँका अनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाहरुले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन् ।

पुथाउत्तरगंगाका अधिकांस घरमा ५०/६० देखि ५/६ सयसम्म भेडाबाख्रा पाल्ने गरिन्छ । प्रदेश सरकारको तकसेरालाई भेडा प्रजनन् केन्द्रको रुपमा विकास गर्ने योजना पनि छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update