कोरोना महामारीको क्रममा आइसोलेसनमा खटिएका रुकुम पूर्व सिस्ने गाउँपालिकाका स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउने भएका छन् । आइसोलेसन तथा विभिन्न नाकामा काम गरेका स्वास्थ्यकर्मीलाई कोभिड भत्ता प्रदान गर्ने गरी गाउँ कार्यपालिकाले निर्णय गरेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट स्वास्थ्यकर्मीलाई कोभिड भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । असोज २१ गते बसेको गाउँ कार्यपालिका बैठकले दोस्रो पटकको महामारीका क्रममा कोभिड आइसोलसन तथा विभिन्न नाकामा बसेर काम गरेका स्वास्थ्यकर्मीलाई उनिहरुको तलबको ५० प्रतिशत भत्ता दिइने छ ।
यसको तयारी र निर्णय भइसकेको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । २५ जना स्वास्थ्यकर्मीलाई भत्ता दिने गरी तयारी गरिएको छ । यसका लागि झण्डै ५ लाख बढि खर्च हुने र त्यसको व्यवस्था भइसकेको गाउँपालिकाले जनाएको छ ।