Kakhara सबैको खबर सम्पूर्ण खबर
झुलामा संसद विघटनको विरोध
विरोध सभामा सहभागि स्थानीय

संसद विघटनका विरुद्ध रुकुम पश्चिममा नेकपाबाटै निरन्तर विरोध भइरहेको छ । विरोध स्वरुप आईतबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) र राष्ट्रिय युवा संघले सोमबार सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरेका थिए । संसद विघठन भएको दोस्रो दिनसम्म औपचारिक रुपमा विरोध नजनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंगलबार(आज) भने विरोध सभा नै आयोजना गरेर संसद विघटनको चर्को विरोध गरेको छ । पार्टीका जिल्ला अध्यक्षको उपस्थितिमा नेकपा बाँफिकोट गाउँपालिका कमिटिले वडा नं. ९ को झुलामा विरोध सभा गरेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेर जनघात, असंवैधानिक र जनमतको गम्भिर अवमुल्यन हुने काम गरेको भन्दै पार्टीले यसको विरोध गरेको नेकपाको भनाई छ । सभालाई सम्बोधन गर्दै पार्टी जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ले संसद विघटन जस्तो जनघाति कदम अर्को नहुने बताउनुभयो । जनताले स्पस्ट वहुमत दिएर पाँच वर्षका लागि सरकार संचालन गर्ने म्याण्डेट दिदा दिदै सनकका भरमा संसद विघटन गर्नु जनमतको गम्भिर अवमुल्यन भएको उहाँको दाबि छ । संसद विघटनका विरुद्धमा एक ढिक्का भएर उभिने उद्घोष समेत उहाँले गर्नुभएको थियो । यसमा साथ दिन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

विरोध सभालाई नेकपाका स्थायी कमिटि सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले टेलिफोन मार्फत सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्रीले नै संविधानको अपहरण गरेको आरोप लगाउनुभयो । संविधानमै नभएको धारालाई आधार बनाएर संसद विघटन गर्नु संविधानको गम्भिर उल्लंघन रहेको उहाँको भनाई थियो । जनचाहना अनुसार सरकार चलाउन नसकेर संसद विघटन गर्ने जस्तो कायर काम प्रधानमन्त्रीबाट भएको उहाँको भनाई थियो । साथै उहाँले संसदमा बहुमत सदस्य विघटनको विरुद्धमा रहेको सुनाउँदै संसद जिवितै रहेको दाबि पनि गर्नुभयो । अव अदालत र राजनितिक दलहरुको खास परीक्षा भइरहेको र को पास हुन्छन् को फेल हुन्छन् हेर्ने बेला भएको उहाँले बताउनुभयो ।

नेकपाका बाँफिकोट गाउँपालिका कमिटि अध्यक्ष कबिराम केसीको अध्यक्षतामा भएको विरोध सभामा नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’को प्रमुख आतिथ्यता रहेको थियो । सभामा नेकपाका कर्णाली प्रदेश कमिटि सदस्य महेन्द्र केसी ‘पारषमणि’, धर्मवहादुर केसी, इन्दिरा बिएम, रायिट्रय युवा संघका गाउँपालिका संयोजक सौरभ केसी, पार्टीका जिल्ला कमिटि, गाउँपालिका कमिटि, वडा कमिटिका पदाधिकारी, अन्य नेता कार्यकर्ता लगायतको आतिथ्यता रहेको थियो ।

पार्टीका जिल्ला सदस्य नगेन्द्र रिजालको विरोध मन्तव्यबाट सुरु भएको विरोध सभाको संचालन प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’ का संयोजक चन्द्रवहादुर केसीले गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जनघाति कदम भन्दै देशैभर यसको विरोध भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update