रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा तेस्रो शिद्ध गुफा कप जारी छ । शिद्ध गुफा युवा क्लव मुसीकोट नगरपालिका १ सल्लेले आयोजना गरेको प्रतियोगिता असोज २६ गतेबाट सुरु भएको हो । कपमा मुसीकोटका विभिन्न ठाउँका फुटबल टिमहरुले प्रतिस्पर्धा गरिरहेका छन् । कपमा २० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता बराहटाकुरा खेल मैदानमा भइरहेको छ । प्रतियोगिताको विजेताले ३० हजार नगद र कप हात पार्दा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने खेल संयोजक नवराज खड्काले जानकारी दिनुभयो ।
यसका अलावा उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र उत्कृष्ट गोल रक्षक छनौट गरी पुरस्कृत गरिने खड्काले बताउनुभयो । उहाँका अनुसार सेमिफाईनलका दुई खेलमा म्यान अफ द म्याच पनि छनौट गरिने छ । प्रतियोगिता दशैंको भोलीपल्ट अर्थात ३० गते सकिने उहाँले बताउनुभयो । क्वाटरफाईनलका खेलहरु आज सकिने र सेमिफाइनलका २ खेल तथा फाईनल खेल ३० गते हुने आयोजकले जनाएको छ । दशैंको अवसरमा कप आयोजना गरिएको आयोजकले जनाएको छ । खेल मैदान सानो भएकाले ७÷७ जना खेलाडिको सहभागिता रहेका छन् ।