रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयो ।
घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौ लिईएको उहाँको भनाई छ । निजको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट लागेको शाहीको भनाई छ ।
त्यसैगरी प्रहरी हवल्दार कालि बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते भएका छन् ।
शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र समातेको बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अबस्था बनेको हो । घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसीकाेट नगरपालिका ५ का २० बर्षका नरेश पुनमगर, वडा १ खानेपानी टोलका बर्ष १८ राजनप्रकाश गिरी, सोहि वडाका २० वर्षको आकाश परियार रहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
त्यस्तै रुकुम पुर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ का २३ को मर्कुश पुन मगर, मुसीकोट नगरपालिका १ का २५ का हरिबहादुर घर्ती रहेको र धनिराम नेपाली र स्वयल विक फरार रहेको प्रहरीले जनाएको छ ।