रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वर्षाको क्रममा विग्रे, भत्केका सडक मर्मत थालेको छ । पालिकाको आफ्नै डोजर र ठेक्का मार्फत पालिका भित्रका सबै सडक मर्मत थालेको हो । दसैं अघि नै सबै सडक मर्मत गर्ने योजना बनाएपनि त्यो भने सम्भव भएन ।
धेरै ठाउँमा मर्मत गर्नुपर्ने भएकाले दसैं अघि नै सडक मर्मत कार्य सम्पन्न नभएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो । दसैं लगत्तै बाँकी मर्मतको काम सुचारु हुने अध्यक्ष केसीले बताउनुभयो । हालसम्म मुसीकोट नगरपालिका १ मा पर्ने गिल्वाङ क्षेत्रको सडक मर्मत सकिएको छ ।
त्यसपछि उक्त डोजर ४, ३ हुँदै २ नम्बर वडाबाट १ नम्बर वडाको रेवतखोलासम्मको सडक मर्मत गर्ने तयारी छ । हालसम्म ३ नम्बर वडाको जग्रासम्मको सडक मर्मत भइसकेको छ । बाँकी एक दुई दिनमा गरिने जनाइएको छ । ४ नम्बर वडाको छिन्खेतदेखि मग्मा हुँदै, घारीखोलासम्म, ६ नम्बर वडाको मग्मादेखि दुलीको दहनेटासम्मको सडक मर्मत भइरहेको छ । भाडाका मेशिन मार्फत उक्त सडक मर्मत भइरहेको हो ।
९ नम्बर वडाको भेडाखेतदेखि मोरावाङसम्मको सडक मर्मत पनि गाउँपालिकाका मेशिनले गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका मेशिनले ४ नम्बर वडाको छिन्खेतदेखि स्यार्पूतालसम्मको सडक मर्मत गरिसकेको छ । तिहार अगावै सबै सडक सुचारु भइसक्ने गाउँपालिका अध्यक्ष केसीले बताउनुभयो । गाउँपालिकाका लगभग सबै वडा सडक सञ्जालमा जोडिएका छन् । गाउँपालिकामा १० वडा छन् । १० नम्बर वडाका केही ठाउँ भने सडक सञ्जालमा जोडिन बाँकी छन् ।