रुकुम पश्चिमका चार स्थानीय तहले नगर प्रहरी भर्ना गरेका छन् । चौरजहारी नगरपालिकाले २६ जना नगर प्रहरी भर्ना गरेसंगै जिल्लामा नगर प्रहरी भर्ना गर्ने स्थानीय तहको संख्या चार पुगेको हो । पछिल्लो पटक चौरजहारी नगरपालिकाले थप गरेका र जिल्लामा सबैभन्दा पहिला सानीभेरी गाउँपालिकाले भर्ना गरेका नगर प्रहरीले संगै तालिम गरेका छन् । चौरजहारीका २६ जना र सानीभेरीका पाँच गरी ३१ जना नगर प्रहरीले ९० दिनको आधारभुत तालिम पुरा गरेका हुन् । २६ जना पुरुष र पाँच जना महिला नगर प्रहरीले आधारभुत तालिम पुरा गरेसंगै आज उनिहरुलाई दज्र्यानि चिन्ह र प्रमाणपत्र प्रदान गर्दै जिल्ला प्रहरी कार्यालयले बिदाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले दुई स्थानीय तहका नगर प्रहरीलाई आधारभुत तालिम दिएको हो । तालिम पुरा भएपछि आज दीक्षान्त समारोहको आयोजना गरी तालिम पुरा गर्ने नगर प्रहरीहरुलाई दज्र्यानि चिन्ह र प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौरजहारी नगरपालिकाले प्रहरी सहायक निरीक्षक तीन जना, २२ जना जवान र १ भान्से भर्ना गरेको छ । जसमा तीन जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकाले भने तीन पुरुष र दुई महिला गरी पाँचै जना जवान भर्ना गरेको छ ।
जिल्लामा सबैभन्दा पहिला सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मै पाँच जना प्रहरी भर्ना गरेको थियो । १५ दिनको सामान्य तालिम पछि सेवामा रहेका उनिहरुले भर्ना भएको झण्डै तीन वर्षपछि आधारभुत तालिम पाएका हुन् । त्यसपछि जिल्लामा आठबीसकोट नगरपालिका र मुसीकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेका थिए । प्रहरी नायब निरीक्षकले नेतृत्व गर्ने गरी आठबीसकोटले २२ र प्रहरी सहायक निरीक्षकले नेतृत्व गर्ने गरी मुसीकोट नगरपालिकाले १५ जना नगर प्रहरी भर्ना गरेका थिए । दुई नगरपालिकाका नगर प्रहरीले पनि संगै तालिम लिएका थिए । अव जिल्लामा ६८ जना नगर प्रहरी स्थानीय तहबाटै तलब भत्ता खाने गरी कार्यरत छन् ।