पाकेर ठिक्क भएको धान भित्र्याउने बेलामा लगातार वर्षा भएपछि किसानहरु चिन्तित बनेका छन् । दशैं मनाएर धान भित्र्याउने योजनामा रहेका किसानहरु हिजोबाट लगातार वर्षा हुँदा चिन्तित बनेका हुन् । पानी संगै असिना परेर धानमा क्षेति गर्ने होकी भन्ने चिन्ताले रुकुम पश्चिमका किसानहरुलाई सताएको छ ।
केही किसान धान काट्ने योजनामा रहेको र केही किसानले धान काट्न सुरु गरिसकेको बाँफिकोट ४ का किसान मननाम खत्रीले बताउनुभयो । केही ठाउँमा हिजो दिउँशोबाटै र केही ठाउँमा राती देखि लगातार पानी परिरहेको छ ।
यदी पानी नपरेको हुन्थ्यो त यतिबेला किसान धान भित्र्याउन व्यस्त हुने थिए । तर पानी परेपछि घर भित्रै बस्नु परेको र काटेको धान खेतबारीमै रहेको छ, बाफिकोट ३ किसान गोपाल केसीले भन्नुभयो ।
लगातार पानी परेमा काटेको धान बारीमै कुहिने र असिना परेमा धान झरेर चौपट हुने चिन्ता किसानमा छ । मौसम विज्ञान विभागले अझै केही दिन पानी पर्ने सम्भावना रहेको भनेका कारण पनि किसानहरु थप चिन्तामा परेका छन् । रुकुम पश्चिममा धान प्रमुख खाद्यान्न बाली मध्यको एक हो । पाखो बारीमा भने वर्षातले राहत भएको छ ।