रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले थप दुई वटा बस किन्ने भएको छ । नगर बसको सेवा विस्तार गर्ने उदे्श्यले नगरपालिकाले थप २ वटा नगर बस किन्ने भएको हो । चालु आर्थिक वर्ष २०७८/०७९ मा २ वटा बस किन्ने नगरपालिकाले तयारी गरेको छ । नगरपालिकाले हाल ३ वटा नगर बस संचालन गरिरहेको छ । सबै नगरवासीलाई अझैपनि सहज यातायात सेवा दिन नसकेको निष्कर्ष निकाल्दै नगरपालिकाले नगर बस थप्ने निर्णय गरेको छ । ३ वटा नगर बसले नगरका सबै स्थानमा सेवा दिन समस्या भएको नगरको भनाई छ ।
सार्वजनिक यातायात सेवामा सर्वसाधारणको सहज र सुविधाजनक पहुँच स्थापित नहुँदा नगरपालिकाले सार्वजनिक यातायातलाई प्रोत्साहन गरी सुरक्षित, भरपर्दो, सर्वसुलभ, गुणस्तरीय, विश्वसनीय र सेवामुखी रुपमा नगर बस संचालन गर्दै आएको र सेवालाई थप विस्तार गर्न बस थप्ने निर्णय भएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । ‘३ वटा नगर बसबाट नगरपालिकाको सम्पूर्ण स्थानहरुमा सेवाको पहुँच नभएकोले लाभग्राहीलाई आवागमनमा समस्या भएको छ, उहाँले भन्नुभयो–नगरवासीको सुविधाका लागि नगर बस थप्दै छौं ।’ बस खरिदका लागि नगरपालिकाले प्रदेश र संघ सरकारमा माग गरी पठाएको छ ।
आन्तरिक ऋण उठाई बस खरिद गर्ने गरी बजेट विनियोजन गरिएकोमा तत्काल आन्तरिक ऋण उठाउन सकिने अवस्था नरहेकोले नगर बस खरिद गर्न आवश्यक रकमको व्यवस्थाको लागि संघ, प्रदेश सरकारसँग आवश्यक रकम माग गरिएको नगरपालिकाको भनाई छ । नगरपालिकाबाट नगर बस खरिद गर्न आव्हान गरिएको बोलपत्र अनुसार नगर बस गरिद कार्य अगाडी बढाउन नगरपालिकालाई अख्तियारी दिने निर्णय सम्बन्धी प्रस्ताव नगरकार्यपालिकाबाट सर्वसहमतिमा पारित भएको छ । यो संगै बस खरिदको प्रक्रिया अगाडि बढेको छ ।