- प्रचण्ड खत्री
लगातार भएको वर्षाका कारण रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका बिभिन्न सडक अबरुद्ध भएका छन् । विशेषगरी छिनखेतबाट कोट जाने बाटो अबरुद्ध छ । बाटो अवरुद्ध भएपछि बाँफिकोट गाउँपालिकाको कामकाजका निम्ति जाने सेवा ग्राहीहरु पैदल हिड्न बाध्य भएको स्थानीय खम्बु खत्रीले बताउनुभयो ।
वडा नम्बर ४ को छिनखेत प्रहरी चौकी देखि गाउपालिकाको कार्यालयसम्मको ८ किलोमिटर सडक लगातारको वर्षाका कारण संचालन हुन सकेको छैन् । उक्त सडक खण्डको बिभिन्न ठाउँमा खाल्डा खुल्डी र भर्खरै मर्मत गरेको सडक हिलाम्मे भएको छ ।
जसका कारण हिजोबाट सडकमा साना ठुला गाडी चल्न नसकेको गाडी संचालक बसन्त केसीले बताउनुभयो । गाडी नचल्दा सदरमुकाम आउने यात्रु कोट देखि छिनखेत हिडेर आउने गरेका छन् । तीन दिन देखि लगातार पानी परिरहेकाले स्थानीयले सास्ती भोग्नुपरेको हो ।
वर्षाका कारण सडक अवरुद्ध हुँदा बाँफिकोट गाउपालिका वडा नम्बर ३ दह, स्यानीदह, पैयाबार, वडा नम्बर ५ को काँडा, बडगाउँ, वडा नम्बर ४ को नेटापोखरा लगायतका स्थानीय समस्यामा परेका छन् । सडक अवरुद्ध हुँदा झण्डै १ घण्टा जति पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।