Kakhara सबैको खबर सम्पूर्ण खबर
भण्डारीकाँडा–डिग्रे–मठ–राउखेत सडक पिच हुने 
खलंगा-राउखेत सडक खण्डको घ्यूखोलामा बिग्रिएको सडकमा ढुंगा राखेर गाडी वारपार गर्न मिल्ने बनाईदै ।

रुकुम पश्चिमको मुसीकोट ६ भण्डारीकाँडा देखि वडा नम्बर २ को राउखेतसम्मको सडक पिच हुने भएको छ । भण्डारीकाँडा मध्यपहाडि लोकमार्गबाट सुरु भई वडा नम्बर ५ को डिग्रे, वडा नम्बर १ को मठ हुँदै राउखेत जोड्ने सडक पिच हुन लागेको हो । यो बाटो पिचका लागि संघीय सरकारबाट १ अर्व बजेट आएको छ । सडक कालोपत्रेको काम यसै आर्थिक वर्षबाट सुरु हुने मुसीकोट नगरपालिकाले जनाएको छ । संघीय सरकारको अर्थ मन्त्रालयबाट यो सडक खण्ड कालोपत्रेका लागि १ अर्व बजेट आउने निश्चित भएको र बजेट प्रदेश सरकार मार्फत कार्यान्वयन हुने नगर प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार यो योजना बहुवर्षिय हो । अव छिट्टै १ अर्वको ठेक्का खोलिने छ । चालु वर्षमा ३५ करोड खर्च गर्ने र बाँकी बजेट अर्को वर्ष खर्च हुने नगर प्रमुख गौतमको भनाई छ । अर्को वर्ष कालोपत्रेको काम सम्पन्न हुने उहाँले बताउनुभयो । आफुहरुले चुनावी घोषणा पत्रमा यो सडक कालोपत्रेका लागि पहल गर्ने प्रतिबद्धता गरे अनुसार सडक कालोपत्रे हुन लागेको उहाँको भनाई छ । यो सडक खण्ड पिच भएमा मुसीकोट नगरपालिकामा पिच हुने पहिलो स्थानीय सडक बन्ने छ । नयाँ शहर कार्यक्रम अन्तरगत चौरजहारी नगरपालिको चौरजहारी बजार भित्रका केही सडक पिच भएपनि जिल्लामा भरमा अन्यत्र कतै पनि स्थानीय सडक पिच हुन सकेका छैनन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update