रुकुम पश्चिमबाट १ वर्षमा १८ करोड बढीको पुश तथा कृषि उपज निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाबाट खसि बोका, कुखुरा, दुध, माछाका भुरा, बंगुर, भैंसी गरी १८ करोड ११ लाख ८१ हजार १ सय ३५ रुपैंया बराबरका कृषि तथा पशु उपजहरु जिल्ला बाहिर निर्यात भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी खसि बोकाबाट पैसा भित्रिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार खसि बोकाबाट जिल्लामा १० करोड ६२ लाख ४३ हजार ५ सय भित्रिएको छ । १ वर्षमा जिल्लाबाट ६ हजार ४ सय ३९ वटा खसि बोका काठमाडौं, सल्यान र डोल्पा निर्यात गरिएको कार्यालयको भनाई छ ।
६ करोड २० लाख २९ हजार ३ सय ७५ रुपैंया बराबरको कुखुरा निर्यात भएको छ । जिल्लाबाट ९९ हजार २ सय ४७ वटा कुखुरा रुकुम पूर्व, डोल्पा, सल्यान र जाजरकोट पठाईएको छ । ५९ हजार ३ सय ४७ लिटर दुध निर्यात गर्दा जिल्लामा ४७ लाख ४७ हजार ७ सय ६० रुपैंया आएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।
रेन्वोट्राउट माछाका भुराबाट जिल्लाका कृषकले १ लाख ८५ हजार र अन्य माछाका भुराबाट ३ लाख आम्दानी गरेका छन् । ४३ हजार माछाका भुरा जाजरकोट, सल्यान, रुकुम पूर्वमा निर्यात गरिएको बताईएको छ । १ वर्षमा १ सय ७९ वटा बंगुर र १ सय १३ वटा भैंसी जिल्ला बाहिर पठाईएको छ ।
बंगुरबाट ४४ लाख ७५ हजार ५ सय र भैंसीबाट ३२ लाख रुपैंया जिल्लामा आएको पशु अस्पताल तथा पशु सेवा कार्यालयको भनाई छ । समुह सहकारी तथा कृषक स्वयंबाट जिल्लाबाट कृषि तथा पशु उपजहरु जिल्ला बाहिर निर्यात भएको कार्यालयका निमित्त प्रमुख शर्माले बताउनुभयो ।
जिल्लाबाट कृषि तथा पशुजन्य वस्तु निर्यात बढ्दो क्रममा रहेको उहाँको भनाई छ । उहाँका अनुसार यसबाट जिल्लामा वर्षेनि ठुलो रकम भित्रिने गरेको छ ।